१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सामाजिक सुरक्षा भत्ता नपाउँदा स्वास्थ्य उपचारमा समस्या



राजु विश्वकर्मा

माघ १६, लहान । सिरहा नवराजपुर गाउँपालिका १ भगवतीपुर तामासुइयाका ज्येष्ठ नागरिक तथा एकल महिलाले विगत एक वर्षदेखि सामाजिक सुरक्षा भत्ताबाट वञ्चित भएका छन् ।

गाउँपालिका कार्यालय र वडा कार्यालयको लापर्वाहीका कारण सो वडाका करीब १५० भन्दा बढी ज्येष्ठ नागरिक तथा एकल महिलाले गत फागुन महीनायता सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन् । गत वर्षको माघ महीनामा सामाजिक सुरक्षा भत्ता पाएयता अहिलेसम्म सामाजिक सुरक्षाभत्ता पाउन नसकेको ज्येष्ठ नागरिक देवनाथ यादव बताउछन् ।

आर्थिक वर्ष २०७४÷०७५ को तेस्रो किस्ता र चालू आर्थिक वर्ष दुई किस्ताबापतको पाउनुपर्ने सामाजिक सुरक्षाभत्ता हालसम्म पनि पाउन नसकेको स्थानीय ज्येष्ठ नागरिक बताउँछन् । “सामाजिक सुरक्षा भत्ताकै रकमबाट औषधोपचार गराइरहेको थिए,” स्थानीयवासी ८१ वर्षीय रामेश्वर यादवले भने, “श्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित रहे पनि भत्ता नपाउँदा उपचार गराउन समेत समस्या भएको छ ।” भत्ताबापतको रकमका लागि पटकपटक वडा कार्यालयदेखि गाउँपालिका कार्यालयसम्म धाउँदै आए पनि भत्ता पाउन नसकेको यादवको गुनासो छ ।

जाडो मौसममा लगाउने कपडा छैन कसरी बाच्ने रु प्रश्न तेर्साउँदै स्थानीयवासी सुखलाही यादवले भने, “भत्ता लिन गाउँपालिका र वडा कार्यालय दिनानुदिन चहार्दै आए पनि कहीं कतैबाट सुनुवाइ भएको छैन ।” वडाका ज्येष्ठ नागरिक तथा एकल महिलालगायतले पाउनुपर्ने सामाजिक सुरक्षाभत्ता पाउन नसकेको विषयमा गाउँपालिकाका अध्यक्षलाई पटकपटक जानकारी गराउँदासमेत गाउँपालिकाले समयमा निकासा नदिएकाले वितरण गर्न नसकिएको वडाध्यक्ष रामऔतार यादव बताउछन् । वडा कार्यालयमा वडासचिव समेत लामो समयदेखि नहुँदा काम गर्न कठिनाइ भइरहेको वडाध्यक्षको भनाइ छ ।

सो वडाका कति जना ज्येष्ठ नागरिक तथा एकल महिला लगायतले सामाजिक सुरक्षा भत्ता पाइरहेको छ, त्यसको वास्तविक तथ्याङ्कसमेत वडा कार्यालयसँग छैन ।

यता नवराजपुर गाउँपालिकाका अध्यक्ष विश्वमोहन यादवले गाउँपालिकाको चार वटा वडामा निष्पक्ष तरिकाले सामाजिक सुरक्षाभत्ता वितरण भइसके पनि वडा नम्बर १ मा मात्र वितरण हुन नसक्नुको कारण खोजिरहेको बताए । यसबारे आफू गम्भीर रहेको र छिट्टै सामाजिक सुरक्षा भत्ता वितरणको व्यवस्था मिलाइने गाउँपालिका अध्यक्ष यादवको कथन छ । रासस

प्रकाशित मिति : १६ माघ २०७५, बुधबार ००:००