माघ ११, सुर्खेत । कर्णाली प्रदेशको विकासका लागि भूगोललाई प्राथमिकतामा राखेर बजेट बनाउन सुझाव दिइएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला र भौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्रीले उक्त सुझाव दिएका हुन् ।
कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश थपलिया नेतृत्वको टोलीले प्रस्तुत गरेको ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमको अवधारणपत्र’ प्रस्तुति पछि उनले उक्त सुझाव दिएका हुन् ।
“अब सङ्घीय सरकार र दाता निकायले कर्णालीमैत्री परियोजना बनाउनुपर्छ”, उनले भने, “प्रदेशले पनि आफ्नो गुरुयोजना निर्माण गर्छ ।” सबै जिल्ला र स्थानीय तहबाट प्रदेश राजधानी जोड्ने सडक निर्माण गरिने उनले बताए ।
उनले ओटासिल गरिएका सडक नै गुणस्तरहीन भएकाले नयाँ प्रविधि अपनाउन पनि संघीय सरकारको टोलीलाई आग्रह गरे । कर्णालीमा जनरल र प्राविधिक दुवै क्षेत्रका कर्मचारी अभाव भएकाले तिनको पूर्ति र प्राथमिकता दुवैमा ध्यान दिन उनले आग्रह गरेका थिए ।
उनले एनआरआरएसले विगतमा कार्य थालनी गरी अधुरो छोडेका सडक समेत निर्माण गर्नुपर्नेमा जोड दिए । संघीय सरकारले ‘प्रादेशिक तथा स्थानयि सडक सुधार कार्यक्रम र ‘प्रादेशिक तथा स्थानीय यातायात स्ट्याण्डर्ड’ लाई मुलुकको भूगोल सुहाउँदो र नागरिकको सहज पहुँच हुने खालको बनाउने सचिव थपलियाको बताए । रासस
प्रतिक्रिया