१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाणगंगा नगरपालिकामा सुत्केरी भत्ता गायब !



शेरिफ केसी

माघ १०, जितपुर । कपिलवस्तुको वाणगङ्गा पिपरास्थित सरकारी अस्पतालबाट सुत्केरी भएका महिलाले साउनदेखि सुत्केरी भत्ता पाएका छैनन् ।

साउनयता १ सय ८९ जनाले उक्त भत्ताबापतको रकम पाएका छैनन् । सुत्केरी भत्ताको निकासा वाणगङ्गा नगरपालिकाले नगरेकाले भुक्तानी दिन नसकिएको अस्पतालको भनाइ छ ।

चालू आर्थिक वर्ष ०७५÷७६ साउनदेखि मङ्सिरसम्ममा अस्पतालबाट सुत्केरी भएका र नियमित गर्भजाँच गराएका १ सय ८९ महिलाले उक्त सुविधा लिन नपाएको अस्पतालका डा देवी श्रेष्ठले जानकारी दिए ।

तर नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक कमल ज्ञवालीले सुत्केरी भत्ता समयमै निकासा भएर अस्पतालमै गएको दाबी गरेका छन् । सुत्केरी भत्ता भनेर नगरपालिकाले १ हजार रुपैयाँ र गर्भवती भएको चार पटकसम्म स्वास्थ्य संस्थामै जाँच गराउँदा यातायात खर्चवापत ८ सय रुपैयाँसहित एकमुष्ठ १ हजार ८ सय रुपैयाँ पाउने व्यवस्था छ ।

सेवाग्राहीले वाणगङ्गा नगरपालिकाले उक्त सेवा सुविधा नदिएको बुझेका छन् । तर नगरका स्वास्थ्य शाखाका संयोजक ज्ञवालीले समयमै निकासा भएको बताएपछि सो रकम कहाँ गयो ? भनेर गम्भीर प्रश्न खडा भएको छ ।

साउन १ देखि नगरपालिकाले दिने भनिए पनि नगरपालिकाबाट उक्त सुविधा नदिएको पिपरा अस्पतालकी नर्सिङ इञ्चार्ज पुतला खनालले दाबी गरिन् । “अस्पतालमा आउने सुत्केरी महिलालाई नगरपालिकाले बजेट दिएको छैन भनेर पठाउने गरेका छौं,” खनालले भनिन् ।

सुत्केरीहरूले पाउनुपर्ने ३ लाख ४० हजार रुपैयाँ कहाँ गयो भन्नेबारे छानवीन पार्न नागरिक समाजले माग गरेको छ । उता नगरपालिकाका स्वास्थ्य शाखा संयोजक ज्ञवालीले भने साउन १ गतेदेखि नै मासिकरुपमा निकासा दिएको दाबी गर्नुभएको छ । तर खनालले भने साउन अघिसम्म दिइएको र त्यसयता नगरपालिकाले बजेट विनियोजन नगरेको दाबी गर्छिन् । गत वर्ष २ सय ३० जना सुत्केरीले उक्त सुविधा लिएका थिए । रासस

प्रकाशित मिति : १० माघ २०७५, बिहिबार ००:००