१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोटेश्वर–कलङ्की सडकः ‘सर्भिस ट्र्याक’ निर्माण आधा सकियो



पुस २२, ललितपुर । कोटेश्वर–कलङ्की सडकको सबैभन्दा बाहिरी लेन ‘सर्भिस ट्र्याक’ को निर्माण आधा सकिएको छ । चिनियाँ सरकारले आठ लेनको सडक निर्माण सकाएसँगै नेपाल सरकारले गर्ने भनिएको दुई लेनको काम भइरहेको काठमाडौं चक्रपथ सुधार योजनाले बताएको छ ।

अहिलेसम्म झण्डै पाँच किलोमिटर काम सकिएको योजनामा कार्यरत इञ्जिनीयर निरञ्जन शर्मा अर्यालले बताए । आगामी वर्ष बाँकी पाँच किलोमिटर सक्ने योजना छ । चक्रपथको भित्रपट्टि र बाहिरपट्टि गरेर दुवैतर्फको काम भइरहेको छ । यो सडकमा मुख्य लेन, सहायक लेन र ‘सर्भिस ट्र्याक’ गरेर तीन प्रकारका लेन छन् । मुख्य र सहायक लेन चार चार र ‘सर्भिस ट्र्याक’ दुवैतर्फ एक एक गरेर जम्मा दुई लेनको रहेको छ ।

आठ लेन सडक निर्माणको जिम्मेवारी चिनियाँ निर्माण कम्पनी सङ्घाइ निर्माण सेवा समूहले लिएको थियो । बाहिरपट्टिका दुई लेन सडक विभागले निर्माण गरिरहेको छ । सर्भिस ट्र्याकबाट नै चालक चक्रपथमा प्रवेश गर्न पाउँछन् । उनले भने, “सर्भिस ट्र्याकबाट निश्चित चोकमा पुगेपछि मात्रै चालक सहायक र मुख्य लेनमा छिर्न पाउँछन् ।”

अहिले आठ लेनको सडक भए पनि यी दुई लेनसहित सडक १० लेनको हुनेछ । सडकको निर्माण सकेसम्म चाँडो सक्ने योजना रहेको इञ्जिनीयर शर्माले बताए । उनले भने, “वार्षिक जति बजेट छुट्टिन्छ, त्यसैका आधारमा काम हुनेछ ।” गत मङ्सिर मसान्तमा चिनियाँ निर्माण कम्पनीले आठ लेन सडक निर्माण सम्पन्न गरिसकेको छ । रासस

प्रकाशित मिति : २२ पुस २०७५, आइतबार ००:००