१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धौलागिरी गाउँपालिकाको ५० घरमा होमस्टे सञ्चालन



पुस १४, म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिकाको ५० घरमा होमस्टे सञ्चालन भएको छ । जिल्लाका विभिन्न पर्यटकीयस्थलको भ्रमणमा जाने स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरि होमस्टे सञ्चालन गरिएको छ ।

गुर्जा, मुना, लमसुङ, मुदी, खिवाङ र बगर गाउँमा होमस्टे सञ्चालन भएको हो । गुड नेवर्स इन्टरनेशनलको सहयोगमा सङ्गम म्याग्दीद्वारा सञ्चालित सामुदायिक विकास परियोजनाकी लघुउद्यम विकास अधिकृत धनमाया किसानले ६ वटा बस्तीका ५० घरमा होमस्टे सञ्चालन भएको जानकारी दिइन् ।

परियोजनाले होमस्टेसम्बन्धी तालीमका साथै स्थानीय कृषि सहकारी संस्थामार्फत अनुदान र घुम्ती कोष उपलब्ध गराएको छ । पर्यटन विकास र आयआर्जनमा सघाउन होमस्टे सञ्चालनमा सहयोग गरिएको परियोजनाका जिल्ला संयोजक राजेन्द्र लोहारले बताए ।

होमस्टे नहुँदा गाउँमा पुग्ने पर्यटक व्यक्तिका घरमा बास बस्ने गरेका थिए । धौलागिरि, गुर्जा हिमाल आरोहण, धौलागिरि चक्रिय, गुरील्ला पदमार्ग र ढोरपाटन शिकार आरक्षमा जाने आउने पर्यटकलाई लक्षित गरेर होमस्टे सञ्चालन गरिएको गाउँ कार्यपालिकाका प्रवक्तासमेत रहनुभएका गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बतए ।

मङ्सिरको पहिलो हप्ता मुना, लुलाङ, गुर्जाको भ्रमणमा गएका गैरसरकारी सँस्था महासंघ म्याग्दीका अध्यक्ष हरिप्रसाद पौडेलले खाने बस्नेको बन्दोबस्त गर्न विगतको जस्तो समस्या नभएको बताए ।

होटलको सुविधा नभएको गुर्जामा होमस्टे सेवा सुरू भएपछि बास बस्न आफन्त र चिने जानेकाको घर खोज्नुपर्ने पाहुनाको बाध्यता हटेको छ । अल्पसङ्ख्यक छन्त्याल जातिको बसोबास रहेको गुर्जाका ६ वटा घरमा गत वैशाखदेखि होमस्टे सेवा सुरू गरिएको थियो ।

हिमाली आमा समूह गुर्जाकी अध्यक्ष सीता छन्त्यालले अहिले पाहुनाका लागि छुट्टै कोठाको व्यवस्था गरेर ५० जना क्षमताको होमस्टे सञ्चालन गरिएको जानकारी दिइन् ।

मुनाको गङ्गा होमस्टेकी सञ्चालक गङ्गा पुनले राम्रो आम्दानीको स्रोत बनेको बताइन् । दैनिक ५ हजार रुपैयाँसम्म आम्दानी हुने उनले जानकारी दिइन् । होमस्टेमा च्याउ, टुसा, लोकल कुखुरा, खसी, फापरको रोटी, ढिडो, आटोलगायत स्थानीय परिकारको स्वाद चाख्न पाइन्छ ।

प्रकाशित मिति : १४ पुस २०७५, शनिबार ००:००