पुस ४, काठमाडौं, । नेपालको कृषि क्षेत्रको अनुसन्धान र प्रविधि विस्तारमा चीन सरकारले सहयोग गर्ने भएको छ । सहयोगका लागी चीन सरकारको प्रतिनिधी र नेपालको कृषी तथा पशुपंक्षी मन्त्रालयको प्रतिनिधीबीच सम्झौता भएको छ ।
कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनाल, राज्यमन्त्री रामकुमारी चौधरीको उपस्थितिमा मन्त्रालयकातर्फबाट योजना महाशाखा प्रमुख सहसचिव डा. योगेन्द्रकुमार कार्की र चीनको स्वशासित क्षेत्र टिबेट इन्टरनेशनल इकोनोमिक एक्सचेञ्ज सर्भिस सेन्टरका प्रबन्धक बेन जेनबीच मन्त्रालयमा बुधबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौताअनुसार रसुवा, नुवाकोट र सिन्धुपाल्चोकमा परियोजना सञ्चालन हुनेछ । परियोजनाले मुख्य गरी आलुबाली, घाँस, ब्रोइलर तथा लेयर्स कुखुरा, च्याउ, तरकारी र रेन्बो ट्राउट माछामा विभिन्न अत्याधुनिक प्रविधिको अनुसन्धान तथा विस्तार गर्ने मन्त्रालयका उपसचिव शङ्कर सापकोटाले जानकारी दिए ।
परियोजना १९ डिसेम्बर २०१८ देखि १८ डिसेम्बर २०२१ सम्म सञ्चालन हुनेछ । परियोजना सञ्चालनका लागि चीन सरकारले २७ मिलियन चाइनिज युआन सहयोग गर्ने बताइएको छ । परियोजनाले ती जिल्लाका कृषक र प्राविधिक कर्मचारीलाई तालीम दिनेछ । रासस
प्रतिक्रिया