१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डोटीको स्थानीय तहहरूबीच डोजर किन्ने होडबाजी



विमल विष्ट

पुस २, डोटी । केआइसिंह गाउँपालिकाले ४१ लाख रुपैयाँमा जेसिवी कम्पनीको नयाँ व्याकहोल लोडर (चक्कावाला डोजर) खरीद ग-यो । गाउँगाउँ र बस्तीबस्तीमा सडक पु-याउने भन्दै गाउँपालिकाले डोजर खरीद गरेको हो ।

यस्तै सायल गाउँपालिकाले १ करोड २९ लाख रुपैयाँमा लुसान कम्पनीको डोजर खरीद गर्यो । सो गाउँपालिकाले सडक बनाउन डोजर प्रयोग गरी डाँडा भत्काउन थालेको छ । बडीकेदार गाउँपालिकाले पनि १ करोड २३ लाख रुपैयाँमा लुसान कम्पनीकै डोजर खरीद गरेको छ । बडीकेदारले पनि ५ वटै वडामा वडामा सडक पुर्याउने दाबी गरेको छ ।

दीपायल सिलगढी नगरपालिकाले यसअघि नै डोजर खरीद गरिसकेको छ । नगरपालिकाले नगर क्षेत्रमा सडक निर्माण गर्नाका साथै डोजर भाडामा समेत दिने गरेको छ । स्थानीय तहले मात्रै होइन जिल्लामा विभिन्न निर्माण व्यवसायीले सडक निर्माण गर्न डाँडा भत्काउन थालेका छन् । व्यवसायीबीच निजी र भाडामा मेसिन भित्र्याउने होडबाजी चलेको छ ।

उपभोक्ता समितिले डोजरको प्रतिघण्टा ५ हजार ५ सय रुपैयाँदेखि ९ हजार रुपैयाँसम्म तथा चक्कावाला डोजरको प्रतिघण्टा २ हजार ५ सय रुपैयाँदेखि ४ हजार रुपैयाँसम्म भाडा तिर्दै आएका छन् ।

जिल्लामा ४२ वटा डोजर चलिरहेको बोगटान गाउँपालिका सिमिचौरका तेजबहादुर विष्टले बताउनुभयो । उनले भने, “सडक काट्ने नाममा गाउँगाउँमा डोजर भित्रिएका छन्, डाँडाकाँडा सखाप हुने भए ।”

एउटै सडकमा १ करोड रुपैयाँभन्दा बढी खर्च भइरहेको छ । वातावरणीय प्रभाव मूल्याङ्कन गरिएको पाइँदैन । प्रमुख जिल्ला अधिकारी यादव सुवेदी नाप नक्साबिना काटिएका सडकले दुर्घटना निम्त्याउने बताउँछन् ।

विकास निर्माण गर्दा वातावरणीय प्रभाव मूल्याङ्कन अनिवार्य गर्नुपर्ने उहाँले उनी बताउँछन् । सेक्टर वन कार्यालयका सहायक वन अधिकृत शुरेशचन्द्र डिसीले खुटिया–बिपीनगर सडकबाहेक अन्य सडक योजनाको वातावरणीय प्रभाव मूल्याङ्कन नभएको बताए ।

“वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्छ । राजनीतिक दलका नेता र जनप्रतिनिधिले यो कुरा मानिरहेका छैनन्,” उनले भने ।

केआइसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले सडक निर्माणका लागी जनस्तरबाट अत्यधिक माग रहेको बताए । “केही प्रक्रिया नपुगेको होला ! तर हामी जनप्रतिनिधिलाई जनताको दबाब पनि खपिनसक्नु छ, त्यसैले सडक काटिरहेका छौँ,” उनले भने ।

खटिया–दिपायललाई राष्ट्रिय राजमार्ग बनाउन माग

सुदूरपश्चिमको खुटिया—दिपायल हुँदै बझाङ्ङको मानसरोवर जोड्ने सडकलाई राष्ट्रिय राजमार्ग बनाउने प्रयास थालिएको छ । डोटीबाट निर्वाचित सांसद प्रेमबहादुर आलेमगरसहितको टोलीलेले भौतिक योजना तथा निर्माणमन्त्री रघुवीर महासेठलाई उक्त सडकलाई राष्ट्रिय राजमार्ग बनाउनका लागि मन्त्रिपरिषद्को बैठकमा पेश गर्न आग्रह गरेका हुन् ।

उक्त सडक राष्ट्रिय राजमार्ग बनाउनका लागि मन्त्री परिषद्को बैठकमा पेश गर्ने मन्त्री महासेठले प्रतिबद्धता जनाएको आले मगरले जानकारी दिए । उक्त सडकलाई जसरी पनि मानसरोवरसम्म जोडिने प्रतिवद्धता मगरको छ । रासस

प्रकाशित मिति : २ पुस २०७५, सोमबार ००:००