१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

घुम्ती शिविरबाट डडेल्धुराका सर्वसाधारण लाभान्वित



मङ्सिर २७, डडेल्धुरा । एकीकृत घुम्ती शिविरबाट डडेल्धुराका सर्वसाधारण लाभान्वित भएका छन् । सामान्य कामका लागि सदरमुकाम जान बाध्य सर्वसधारणले घुम्ती शिविरबाट गाउँमै विभिन्न प्रकारका सेवा पाएका छन् ।

घुम्ती शिविरमा नागरिकता वितरण, स्वास्थ्य परीक्षण, बीउबिजन निःशुल्क प्राप्त गर्नाका साथै पशुका लागि औषधिसमेत गाउँमै पाएको सर्वसाधारणको भनाइ थियो । जिल्ला प्रशासन कार्यालय डडेल्धुरा र भागेश्वर गाउँपालिकाको संयुक्त आयोजनामा बुधबार एकदिने घुम्ती शिविरको आयोजना गरिएको हो ।

नागरिकता बनाउन मात्रै सदरमुकाम पुग्दा दुई दिन बिताउनुपर्ने वोगटा, लमकाँडे लगायत गाउँका मानिसलाई फाइदा पुगेको वडाध्यक्ष राम शाहीले जानकारी गराए । घुम्ती शिविरवाट सर्वसधारणले नागरिकता, विभिन्न तरकारीका बीउ पाउनका साथै निःशुल्क स्वास्थ्यजाँच, औषधि पाएको तथा पशुको उपचार भएको अध्यक्ष शाहीले बताए ।

डडेल्धुरास्थित गरुड दलगणले पनि दुर्गम क्षेत्रका स्थानीय बासिन्दालाई गाउँमै गई विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । भागेश्वर गाउँपालिका–३ मा पुगी नेपाली सेनाले विशेषज्ञ चिकित्सकको टोलीसहित स्वास्थ्य शिविरको आयोजना गरेको जनाइको छ ।

शिविरमा उपचारदेखि औषधिसमेत निःशुल्क दिइएको गरुणदल गणले जनाएको छ । बालरोगदेखि अन्य सम्पूर्ण रोगका बिरामीले उपचार गराएका छन् । शिविरमा करीब ४०० बिरामीले स्वास्थ्य उपचार गराएको गरुडदल गणका प्रमुख सेनानी ज्योतिकुमार थापाले बताए । रासस

प्रकाशित मिति : २७ मंसिर २०७५, बिहिबार ००:००