१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाउँपालिका महासंघ २ नं. प्रदेशको अधिवेशन सुरू



 

स्थानीय खबर संवाददात
मंसिर २१ धनुषा

गाउँपालिका महासंघ २ नं. प्रदेशको अधिवेशन सुरू भएको छ । २ नं. प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले धनुषाको मिथिला नगरपालिकामा आयोजित अधिवेशनलाई उद्घाटन गरेका छन् ।

कार्यक्रममा बोल्दै राउतले समन्वय, सहअस्थित्व र सहकार्यका आधारमा संघ, प्रदेश र स्थानीय सरकार चल्नु पर्नेमा जोड दिए । उनले स्थानीय तह राजनीतिकभन्दा विकास गर्ने निकाय भएको बताए ।

स्थानीय तह राजनीतिमा अल्मलिए विकासको कामलाई बाधा पुग्ने उनले बताए । साथै स्थानीय निर्वाचन पनि दलीय आधारमा भन्दा पनि योग्य व्यक्तिहरूबीच प्रतिस्पर्धा हुनु पर्ने उनको धारणा छ ।

“स्थानीय तहका जनप्रतिनिधी जनतासँग जोडिएका हुन्छन् । निष्पक्ष भएर जनताको सेवा गर्नुपर्ने जनप्रतिनिधी यो वा त्यो पार्टी भनेर बाँडिनु ठीक होइन,” उनले भने, “विकासको काम र सेवाप्रवाहको कामलाई निष्पक्ष बनाउने हो भने चुनाव दलीय होइन, स्वतन्त्र हुनु पर्छ ।”

यसै गरि २ नं. प्रदेशमा कर्मचारी व्यवस्थापनको समस्या रहेको उनले बताए । संघीय सरकारले कर्मचारी नै नखटाएको र खटाएका कर्मचारी पनि अयोग्य रहेको उनले आरोप लगाए ।

“प्रदेश र स्थानीय सरकारहरू गठन भएको यति धेरै समय भइसक्यो, सबैलाई थाहै छ, कर्मचारी खटाएकै छैन,” उनले भने, “आएका कर्मचारी पनि आफूलाई अधिकृत हुँ भन्छ, एउटा निवेदन पनि लेख्न आउँदैन । त्यस्तो कर्मचारीले कस्तो कानून बनाउला !”

साविकका ९÷१० वटा गाविस गाभेर गाउँपालिका बनाएको र नयाँ संरचनालाई गतिशील बनाउन गाउँपालिकामा कम्तिमा उपसचिवस्तरका अनुभवी कर्मचारी प्रमुख प्रशासकीय अधिकृत हुनु पर्ने उनले बताए ।

२ नं. प्रदेशका सांसद शत्रुघ्न महतोले राजनीतिक लडाइँ सकिएको र अब विकास निर्माण तथा आर्थिक समृद्धिका लागी अग्रसर हुनु पर्नेमा जोड दिए । संघीयता कार्यान्वयनका क्रममा संघ, प्रदेश र स्थानीय सरकारहरूबीच क्षेत्राधिकारमा समस्या देखिएको पनि उनले बताए ।

प्रकाशित मिति : २१ मंसिर २०७५, शुक्रबार ००:००