१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनप्रतिनिधिको पारिश्रमिक विद्यालयलाई सहयोग



 

मङ्सिर १९, म्याग्दी । म्याग्दीका एक जनप्रतिनिधिले आफूले पाएको तलब दुर्गम गाउँको विद्यालयलाई सहयोग गरेका छन् । मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले वडा नं ५ अर्मनको सिर्कुममा रहेको किसानी आधारभूत विद्यालयलाई सहयोग गरेका हुन् ।

विद्यालयमा मङ्गलबार आयोजित समारोहमा अध्यक्ष रोकाले तीन लाख ५० हजारको चेक हस्तान्तरण गरेका थिए । अध्यक्ष रोकाले उपलब्ध गराएको रकम भवन निर्माणका लागि १५ आना जग्गा खरिद गर्दा लागेको ऋण तिरिने प्रअ रेशम सापकोटाले बताए । जग्गा किन्दा लागेको ऋण तिर्न नसकेर समस्यामा परेका सिर्कुमवासीलाई सहयोगले राहत मिलेको प्रअ सापकोटाले बताए ।

“चुनावमा सिर्कुमवासीसँग व्यक्त गरेको प्रतिबद्धता कार्यान्वयन गरेको हुँ,” अध्यक्ष रोकाले भने । उनले आगामी दिनमा पनि तलबबापत प्राप्त हुने सुविधा समस्यामा परेका सामुदायिक विद्यालयलाई सहयोग गर्ने घोषणा गरे ।

शिक्षा विकास तथा समन्वय एकाइको १६ लाख अनुदानमा निर्माण भएको दुईकोठे भवनको उद्घाटनका अवसरमा गण्डकी प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुनले अध्यक्ष रोकालाई सम्मान गरेकी थिइन् ।

मन्त्री पुनले दुर्गम र ग्रामीण क्षेत्रमा आवासीय विद्यालय सञ्चालन गर्न लागिएको जानकारी दिए । उनले निजी स्रोतबाट सञ्चालित सामुदायिक विद्यालयको समस्या समाधानका लागि दरबन्दी मिलानको प्रक्रिया अघि बढाएको बताइन् ।
रासस

प्रकाशित मिति : १९ मंसिर २०७५, बुधबार ००:००