१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नर्स नहुँदा एक महीनादेखि प्रसूति सेवा प्रभावित



 

मङ्सिर १९, बैतडी । एक महीनादेखि नर्स नहुँदा जिल्ला अस्पतालमा प्रसूति सेवा प्रभावित हुँदै आएको छ । चार जना स्टाफ नर्सको दरबन्दी भएको जिल्ला अस्पताल अहिले नर्सविहीन छ ।

अस्पतालमा नर्स नहुँदा प्रसूति सेवा प्रभावित भएको अस्पतालका प्रमुख डा जगदीशचन्द्र विष्टले बताए । जटिल खालको प्रसूति सेवा दिन स्टाफ नर्सको आवश्यकता पर्छ । “गर्भवतीको अल्ट्रासाउण्ड सेवासमेत ठप्प भएको छ,” उनले भने ।

जिल्ला अस्पतालमा जटिलतायुक्त प्रसूति सेवा नर्सको अभावमा प्रभावित भएको छ । “शल्यक्रिया गर्न चिकित्सकलाई सहयोगीका रूपमा स्टाफ नर्सको आवश्यकता पर्छ,” उनले भने । जटिल खालका बिरामी आउँदा उपचार गर्न गाह्रो भएको उनको भनाइ छ ।

डा विष्ट अस्पतालमा नभएको बेला अल्ट्रासाउण्ड सेवा ठप्प हुन्छ । अल्ट्रासाउण्ड गर्ने तालीमप्राप्त नर्सको सरुवा भएपछि सेवा प्रभावित भएको हो । जिल्ला अस्पतालमा तीन चिकित्सकको दरबन्दी छ । हाल एक जना मात्र कार्यरत छन् ।

अस्पतालमा जटिलतायुक्त प्रसूति सेवा लिनका लागि छिमेकी जिल्ला दार्चुलाका विभिन्न ठाउँका सेवाग्राही समेत आउने गरेका छन् । प्राथमिक स्वास्थ्य केन्द्र पाटन र मेलौलीमा समेत स्टाफ नर्सको दरबन्दी रिक्त छ ।

चिकित्सक र नर्सको अभावमा यहाँका बिरामी उपचारका लागि डडेल्धुरा, धनगढी तथा सीमावर्ती भारतीय शहर पिथौरागढ जानुपर्ने बाध्यता छ । स्वास्थ्य सेवालाई स्थानीय तहमा हस्तान्तरण गरेपछि झन् समस्या भएको छ । जताततै कर्मचारी अभाव छ ।

“सामान्य बिरामीले पनि उपचार गर्न भारत जानु परिरहेको छ,” दोगडाकेदार ३ श्रीकोटका राम विष्टले भने, “स्थानीस्तरमा भएका स्वास्थ्य चौकीको स्तरोन्नति गरी दरबन्दी अनुसारका चिकित्सक र नर्स पूर्ति गर्नुपर्छ ।”
रासस

प्रकाशित मिति : १९ मंसिर २०७५, बुधबार ००:००