मङ्सिर १७, रुपन्देही । न्यायिक प्रक्रियालाई प्रभावकारी बनाउन सैनामैना नगपालिकाले अभियान शुरु गरेको छ । मेलमिलापको माध्यमबाट विवाद निरुपण गर्ने अधिकार स्थानीय निकायलाई भएकाले न्यायिक प्रक्रिया सहज होस् भन्ने उद्देश्यले वडाका एकसय अगुवालाई मेलमिलाप सम्बन्धी प्रशिक्षण दिइएको नगरउपप्रमुख तथा न्यायिक समिति संयोजक बिना रानाले जानकारी दिइन् ।
वडाबाटै आउने साना विवाद वडामै टुङ्ग्याउन वडाका अगुवा सचेत हुन जरुरी भएको र उनीहरुको सहयोगमा मेलमिलापकर्ताले विवाद समाधान गर्नसक्ने भएकाले पहिलो चरणमा वडाका प्रतिनिधिसँगै अगुवालाई पनि प्रशिक्षण दिन थालिएको उनले बताइन् ।
नगरप्रमुख चित्रबहादुर कार्कीले भने, “पहिले न्याय नपाए गोर्खा जानु भन्थे अब न्याय नपाए सैनामैना जानु भन्ने बनाउनुपर्छ ।” मेलमिलापको माध्यमबाट विवाद निरुपण गर्ने अधिकार स्थानीय निकायलाई भएकाले न्यायिक प्रक्रिया प्रभावकारी बनाएर छिटो न्याय दिन चेतनामूलक अभियान थालनी गरिएको उनले बताए ।
समाजमा हुने हिंसा, झैझगडा, पारिवारिक समस्या जस्ता विवादलाई समयमै निवारण नगर्दा अदालत सम्म पुग्नुपर्ने स्थिति आउन नदिन विवाद निरुपणका लागि मेलमिलापकर्ता दक्ष हुनुपर्नेमा नेकपाका नगर अध्यक्ष खुशीराम चौधरीले जोड दिए ।
न्यायिक समितिका सदस्य सविता भण्डारीका अनुसार अहिलेसम्म न्यायिक समितिमा जग्गा विवाद, घरेलु हिंसा, अंशबण्डा लगायत ४० उजुरी परेका छन् ।
रासस



प्रतिक्रिया ०
यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।
अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।