१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काष्ठमण्डप पुनःर्निर्माणका लागि स्थानीयसँग सुझाव सङ्कलन



 

मङ्सिर १६, काठमाडौं । गत शुक्रबार कामपाले काष्ठमण्डप निर्माणको लागि स्थानीयसँग सुझाव सङ्कलन गरेको थियो । सुझाव सङ्कलनका क्रममा काष्ठमण्डपको नक्सासमेत प्रदर्शन गरिएको थियो ।

सहभागी स्थानीयले ऐतिहासिक सम्पदा निर्माण गर्दा अभिलेखको अध्ययन गरिनुपर्ने, निर्माणका सामग्री गुणस्तरीय हुनुपर्ने, पुरानै मौलिकता कायम गर्नुपर्ने माग गरेका थिए । भूकम्पकै कारण पूर्णरूपमा क्षति पुगेको यस सम्पदा निर्माणका लागि १३ करोडको काठको प्रयोग हुने कामपा सम्पदा विभाग प्रमुख राम थापाले जानकारी दिए ।

काष्ठमण्डपसँगै हनुमानढोका दरबार क्षेत्रमा रहेको सांस्कृतिक सम्पदाको पुनःनिर्माणतीव्र रूपमा भइरहेको छ । यहाँ रहेका करीब तीन दर्जन सम्पदा मध्ये भूकम्पका कारण १० सम्पदा पूर्णरूपमा क्षति भएको र अन्यमा सामान्य क्षति पुगेको थियो । भूकम्पले क्षति पुगेका सम्पदामध्ये हालसम्म गद्दी बैठकको पुनःनिर्माणसम्पन्न भइसकेको छ ।

उक्त स्थानमा सबैभन्दा महत्वपूर्ण मानिने नौतले दरबार र काष्ठमण्डपको पुनःनिर्माण भइरहेको छ भने माजु देग पुनर्निर्माणको शुभारम्भ भएको छ । साथै कुमारी घरको पनि भूकम्पीय संवेदनशीलताको प्राविधिक परीक्षण तथा विश्लेषण भइरहेको छ ।

त्यसैगरी भूकम्पले क्षति पुगेका अन्य सम्पदा पुनर्निर्माणको प्रक्रियामा रहेको हनुमानढोका दरबार संरक्षण कार्यक्रमका प्रमुख उदयबहादुर पसखेले जानकारी दिए । उनका अनुसार काष्ठमण्डपको पुनःनिर्माण आगामी तीन वर्षमा सम्पन्न हुनेछ भने माजु देग पुनःनिर्माणदुई वर्षमा सम्पन्न गरिने योजनाको साथ काम भइरहेको छ । केही सम्पदाको पुनःनिर्माण सम्पन्न भइसकेको र केही पुनर्निर्माणको क्रममा रहेकाले अवलोकन गर्न आउने पर्यटकको सङ्ख्यामा पनि वृद्धि हुँदा गत कात्तिक पाँच गते एकै दिन १३ लाखसम्म आम्दानी गरिएको पसखेले बताए ।

यहाँ घुम्न आउने सार्क राष्ट्रका पर्यटकले प्रवेश शुल्कवापत १५० तिर्नुपर्छ भने सार्कबाहेकका अन्य राष्ट्रका पर्यटकले एक हजार तिर्नुपर्छ । हनुमानढोका दरबार क्षेत्रमा रहेका सम्पदाहरूको पुनर्निर्माणका लागि कामपाले ४९ करोड बजेट छुट्याएको कामपाको भौतिक पूर्वाधार महाशाखाले जनाएको छ ।
रासस

प्रकाशित मिति : १६ मंसिर २०७५, आइतबार ००:००