६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कालीगण्डकी किनारमा रहेको माझी बस्तीमा खानेपानी अभाव



 

लक्ष्मीप्रसाद सापकोटा
मङ्सिर १४, पर्वत ।

कुश्मा नगरपालिका वडा नं १ पाङस्थित कालीगण्डकी किनारमा रहेको माँझी बस्तीमा खानेपानीको वर्षौंदेखि अभाव कायमै छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत र बागलुङको सिमानामा रहेको मालढुङ्गा बजार र माँझी बस्तीमा खानेपानीको अभाव हुँदा स्थानीय समस्यामा परेका छन् ।

सो बजारमा व्यवसायका लागि सानाठूला गरी करीब तीन दर्जन घरटहरा छन् । नजिकै करीब १५० परिवारको माझी बस्ती छ । बस्तीका लागि २० एमएमको पाइपमा पानी ल्याइएको भए पनि हिउँद लागेसँगै पानी कम हुँदा दैनिकजसो झगडासमेत हुने गरेको छ ।

बस्तीदेखि करीब ४०० मिटरको दूरीमा पानीको मुहान छ । पानीको स्रोत कम हुँदा र वितरण व्यवस्थित नहुँदा यहाँ खानेपानीका लागि झगडा हुने गरेको हो । “बिहानदेखि साँझसम्म कुनै बेला पानी सजिलै थाप्नै पाइँदैन”, स्थानीय सुमित्रा थापामगरले भनिन्, “यत्रो बजारलाई एउटा धारा छ । राति २ बजे उठेर भाँडा नभरे घाँटी भिजाउने पानी पनि पाइँदैन ।” चिसो मौसममा पानी थाप्नका लागि राति २ बजे उठ्दा खुट्टा सुन्निने र पेट फुल्ने लगायतका समस्या हुन थालेको उनले गुनासो गरिन् ।

मालढुङ्गा भएर दैनिक हजारभन्दा बढी सवारी साधन ओहोरदोहोर गर्छन् । धौलागिरिका सबैजसो जिल्ला सदरमुकाम पुग्ने सवारी साधन यहाँ रोकेर चिया नास्ता खाने ठाउँ पनि हो । बिहानदेखि बेलुकासम्म सयौँ यात्रु यहाँ विश्राम लिन्छन् । सार्वजनिक धारा एउटा मात्रै छ । त्यसैले पानी थाप्नै हानथाप हुन्छ ।

ठूलो आकारको पाइपमा पानी ल्याएर वितरण गर्न र धारा थप गर्न स्थानीयले छ वर्षअघि स्थानीय निकायलाई आग्रह गरेका थिए । त्यसका लागि कृष्ण सुवेदी अध्यक्ष रहेको एक उपभोक्ता समिति पनि गठन भयो । तर उपभोक्ताको गुनासो स्थानीय निकायले सुनेन । त्यसयता दुई वटा निर्वाचन भए । तत्कालीन पाङ गाविस कुश्मा नगरपालिकामा गाभियो । नगरपालिकाभित्र परेको पनि चार वर्ष पुगिसक्यो ।

नगरपालिकाले पनि स्थानीयका माग सुनेन । “नगरपालिका बनिसकेपछि पनि हामीले धेरैपटक समस्या सुनायौँ”, उपभोक्ता समिति सचिव होमनाथ सुवेदीले भने, “हामीलाई पाइप मात्रै देउभन्दा पनि दिन मानेनन् ।” नजिकैको भैँसे ओढारमा रहेको मूलमा व्यवस्थित ट्याङ्की बनाउन सके मालढुङ्गा बजार र नजिकैको माँझी बस्तीलाई समेत पानीको सुविधा हुने उनले बताए ।

“हामीलाई पुगेर पनि माँझी बस्तीलाई पुग्ने पानी त्यो मूलबाट ल्याउन सकिन्छ”, स्थानीय केबी गुरुङले भने, “हाम्रो कुरा कसैले सुन्दैन ।” बस्तीमा घरघरै धारा र एउटा सार्वजनिक थप्न नगरपालिकासँग माग गरिरहेको उनले बताए । “मुहानबाट ४० एमएमको पाइपमा पानी ल्याउन सकियो भने पर्याप्त हुन्छ”, उनले भने ।

कुश्मा नगरपालिकाका प्राविधिक अर्जुन चापागाईंले मालढुङ्गामा खानेपानी सहज बनाउने योजना रहेको बताए । “स्थानीयको मागलाई ध्यानमा राख्दै मुहानदेखि बस्तीसम्मको दूरी नापजाँचको काम भइसक्यो”, उनले भने, “मुहानमा पानी छ । सङ्कलन गरेर ठूलो इन्टेक बनाएर ४० एमएमको पाइप थप्नसके समस्या हुँदैन ।” वडा कार्यालयले एक लाख बजेट छुट्याएकाले मालढुङ्गा बजार र माँझी बस्तीमा पानी पर्याप्त हुनेगरी योजना अघि बढाउन नगरपालिका सकारात्मक रहेको उनले बताए ।

नगरप्रमुख रामचन्द्र जोशीले मालढुङ्गाको खानेपानीको अवस्थाबारे बिहीबार स्थलगत निरीक्षण गरेको बताए । “त्यहाँको समस्या पुरानै हो”, उनले भने, “समस्या समाधान गर्न योजना अघि बढाउँदैछौँ ।” हाल प्रयोग भइरहेको पाइप हटाएर बढी क्षमता जडान गरी पानी पर्याप्त हुनेगरी वितरण गर्ने योजना रहेको नगरप्रमुख जोशीले बताए ।
रासस

प्रकाशित मिति : १४ मंसिर २०७५, शुक्रबार ००:००