१० बैशाख २०८१, सोमबार | Tue Apr 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तलब नपाएपछि शिक्षक आन्दोलित, पनठनपाठन प्रभावित



 

मङ्सिर १४, सल्यान । जिल्लाको वनगाड कुपिण्डे नगरपालिका भित्रका शिक्षक आन्दोलनमा उत्रिएपछि पठनपाठन प्रभावित भएको छ । नगरपालिकाले विगत पाँच महीनादेखि तलब उपलब्ध नगराएको भन्दै नगरपालिकाभित्रका शिक्षक आन्दोलित भएपछि पठनपाठन प्रभावित भएको हो ।

नगरपालिकाका प्रमुख र उपप्रमुखबीच भएको विवादका कारण हालसम्म नगरपरिषद् हुन नसकेपछि शिक्षक लगायत नगरपालिकाका कर्मचारीले गत साउनदेखि तलब पाउन सकेका छैनन् । आफूहरुले पटक–पटक नगरपालिकामा समस्या राखे पनि सुनुवाइ नभएकाले ‘पेनडाउन’ गरेर आन्दोलन गर्न बाध्य भएको शिक्षकहरुले बताएका छन् ।

उधारोमा धेरै काम गर्न नसकिने भन्दै तलब सुविधा नपाएसम्म आन्दोलन नरोकिने शिक्षक महासङ्घ सल्यानका सचिव सुरेशसिंह राठौरले जानकारी दिए । “तलब नखाएर काम गर्न लागेको पाँच महीना बितिसक्यो नगरपालिकाभित्रका शिक्षकले तलब खान पाएका छैनन्, उधारोमा काम कहिले सम्म गर्ने” सचिव राठौरले भने ।

लामो समयसम्म पनि तलब नपाएपछि घर खर्चसमेत चलाउन गाह्रो हुनथालेको सरस्वती आधारभूत विद्यालय सल्लीबजारका शिक्षक सुरेन्द्र खड्काले गुनासो गर्दै भने, “हामी हाम्रा विद्यार्थीको भविष्यप्रति चिन्तित छौँ, पटक–पटक नगरपालिकामा आफ्नो समस्या राख्यौँ तर सुनुवाइ भएन, विकल्प नभएपछि विद्यालय बन्द गरेका हौँ ।”

समयमै नगरपरिषद् नहुँदा शिक्षकसहित नगरपालिकाका कर्मचारीले तलब पाएका छैनन् भने विकास निर्माणका कामसमेत ठप्प छ । कार्यपालिकको बैठक पटक–पटक बसे पनि सहमति हुन सकेको छैन । गत आर्थिक वर्षमा नगरपालिकाभित्र सम्पन्न भएका क्रियाकलापको समीक्षा गर्नुपर्ने माग राख्दै उपप्रमुखसहित बहुमत कार्यपालिका सदस्य प्रमुखको विपक्षमा उभिएपछि परिषद् हुन नसकेको हो ।

कर्मचारी तथा शिक्षकलाई तलब सुविधा तत्काल उपलब्ध गराउने पक्षमा आफूहरु रहेको नगरउपप्रमुख मञ्जु ऐरीले वताइन् । “हामी पनि नगरपालिकाभित्रका सबै कर्मचारीको पक्षमै छौँ, हामीले कार्यपालिकाको बैठकमा गत आर्थिक वर्षमा सम्पन्न क्रियाकलापको समीक्षा गरौँ भनेका छौँ, समीक्षा गर्न सहमत भए हामी नगरपरिषद् गर्न सहमत छौँ” उनले भनिन् ।

नगरप्रमुख गोविन्द पुन छिट्टै समस्या समाधान हुने बताउछन् । शिक्षकका मागप्रति आफू गम्भीर भएको भन्दै छिट्टै कार्यपालिकाको बैठक गरेर समस्या समाधान गरिने उनले जानकारी दिए ।

मङ्सिर ११ गते देखि विद्यालय बन्द भएपछि विद्यार्थी घाम तापी फर्किने गरेका छन् । परिषद्को बैठक समयमा हुन नसक्दा नगरपालिकाभित्रका ३४२ शिक्षकले तलब पाउन सकेका छैनन् । वनगाड कुपिण्डे नगरपालिकामा ६५ विद्यालयमा ३४२ शिक्षक कार्यरत छन् ।
रासस

प्रकाशित मिति : १४ मंसिर २०७५, शुक्रबार ००:००