११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शहरी बस्ती व्यवस्थापनका लागि मापदण्ड बनाउन विकास समितिको निर्देशन



मंसिर १३, काठमाडौं । प्रतिनिधिसभाको विकास तथा प्राविधिक समितिले नयाँ शहरी बस्ती व्यवस्थापनका लागी निश्चित मापदण्ड बनाई प्रभावकारी कार्यान्वयन गर्न शहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ ।

बिहीबार बसेको समितिको बैठकले शहरी बस्ती व्यवस्थापन गर्न स्पष्ट मापदण्ड नएकाले न्यूनतम भौतिक पूर्वाधारको सुनिश्चितता हुने गरी मापदण्ड बनाउन निर्देशन दिएको हो ।

समितिका सभापति कल्याणीकुमारी खड्काले जोखिमयुक्त बस्ती व्यवस्थापनका लागि हिमाल, पहाड र तराईलाई मिलाएर बनाउन आग्रह गर्दै सुरक्षित आवासलगायत कार्यविधिलाई तत्काल टुङ्गो लगाउन पनि बैठकले निर्देशन दिएको जानकारी दिइन् ।

बैठकमा अधिकांश सदस्यले एकीकृत बस्ती विकास, सुरक्षित आवास व्यवस्थित शहरीकरणजस्ता कार्यक्रमले गति लिन नसकेको तथा मन्त्रालयअन्तर्गतका अन्य योजना कार्यक्रम पनि प्रभावकारी हुन नसकेको धारणा राखेका थिए ।

पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वमन्त्री प्रभु साहलगायतले जनअपेक्षाअनुरुप सुरक्षित आवास कार्यक्रमलाई चाँडो प्रभावकारी ढङ्गले अघि बढाइनुपर्नेमा जोड दिए ।

सदस्य अनीलकुमार झा, टेकबहादुर बस्नेत, रङ्गमति साही, दामोदर भण्डारी, राजेन्द्र राई, केदार शिवाकोटी, गोपाल पहाडी, आशा विकलगायतले आधुनिक शहर तथा बस्ती विकासका लागि सन्तुलित योजना तथा कार्यक्रम आवश्यक रहेको बताए ।

शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले सुरक्षित आवाससम्बन्धी कार्यविधि एक हप्ताभित्र पारित हुने जानकारी दिए ।

उनले सुरक्षित बस्ती विकासका लागि हिमाली शहरका १६ वटा जिल्ला छनोट भएको र तीमध्ये पहिलो चरणमा पाँच वटा बस्ती विकासको काम अघि बढाइने बताए । भूउपयोग नीति पनि चाँडै आउने र यसले व्यवस्थित शहरीकरण र बस्ती विकासमा टेवा पुग्ने उनको दाबी छ ।

शहरी विकास सचिव ड.ा रमेशप्रसाद सिंहले सुरक्षित बस्ती विकासका लागि सम्भाव्यता अध्ययन गरेका १६ स्थानमध्ये बजेट अभावका कारण ५ स्थानको मात्र डीपीआरको काम अघि बढाइएको जानकारी दिए । रासस

प्रकाशित मिति : १३ मंसिर २०७५, बिहिबार ००:००