३ मंसिर २०८३, बिहिबार | Thu Nov 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बन्दीपुर गाउँपालिकाः नक्शापासमा ५० प्रतिशत छुट

लेखक स्थानीय खबर १२ मंसिर २०७५, बुधबार २ मिनेट पढाइ

 

मङ्सिर १२, दमौली । तनहुँको बन्दीपुर गाउँपालिकाले प्राचीन कला तथा संस्कृतिको संरक्षण हुने गरी घर निर्माण गर्दा ५० प्रतिशत छुट दिने व्यवस्था गरेको छ । गाउँपालिकाले बजार क्षेत्रको ५०० मिटर क्षेत्रभित्र बन्ने घरको नक्शापासका लागि ५० प्रतिशत छुट दिने व्यवस्था गरेको हो ।

गाउँपालिकाले बन्दीपुर चक्रपथभित्र र चक्रपथ बाहिर ५०० मिटर क्षेत्रलाई संरक्षित उपक्षेत्र घोषणा गरेको छ । यस क्षेत्रभित्र घर बनाउँदा बस्ती विकास, शहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत मापदण्ड २०७२ का साथै गाउँपालिकाले बनाएका केही नियम पालना गर्नुपर्ने अध्यक्ष पूर्णसिहं थापाले जानकारी दिए ।

बन्दीपुर बजारमा भएका पुराना घरको आकर्षणले गर्दा पर्यटकको आगमन बढ्दै गएकाले यस क्षेत्रभित्र घर बनाउँदा आधुनिक र पश्चिमेली शैली झल्काउन नपाइने निर्णय लागू गरिएको उनले बताए । बजार क्षेत्रभित्र बनिसकेका घरको अगाडिको भाग प्राचीन शैलीमा निर्माण गर्न अनुरोध गरिने थापाले बताए ।

बजार क्षेत्रभित्र घर निर्माण गर्दा परम्परागत नेपाली शैली एवं आकारप्रकार काठका झ्याल, ढोका पसलको कबलमा समेत राख्नुपर्ने, चोकमाथि पर्ने गरी क्यान्टिलिभिर, बार्दली, कोठा निकाल्न नपाइने, बाहिरी गाह्रोमा प्लाष्टर नगरी प्रष्टसँग इट्टा देखाउनुपर्ने, बाटो वा चोकतर्फ देखिने भागमा स्लोप छाना हुनुपर्ने लगायतका नियम बनाइएको छ ।

कला, वास्तुकला एवं धार्मिक दृष्टिकोणले महत्वपूर्ण रहेको ठाउँमा, स्मारक वा स्मारकको कम्पाउण्डको वरिपरिका पहिलो पङ्तिका घर स्मारक भन्दा होचो हुने गरी निर्माण गर्नुपर्नेछ ।

बन्दीपुर स्वदेशी तथा विदेशी पर्यटकको गन्तव्यको रुपमा परिचित भइसकेको छ । यहाँ वर्षेनी लाखौं पर्यटक घुम्न आउने गर्दछन् । बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरि लगायतका हिमशृङ्खला देखिन्छ ।

भक्तपुरे शैलीमा निर्माण गरिएको घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्गदेवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्र लगायतका स्थल यहाँ आउने पर्यटकको आकर्षणको केन्द्रविन्दु बन्ने गरेका छन् ।
रासस

प्रकाशित मिति : १२ मंसिर २०७५, बुधबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।