६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गढी पुनःनिर्माण र संरक्षण प्राथमिकतामा



 

मङ्सिर १२, काठमाडौं । सरकारले मुलुकको स्वाधीनता र अखण्डतासँग जोडिएका महत्वपूर्ण धरोहरका रुपमा रहेका गढीको पुनःनिर्माण र संरक्षणलाई प्राथमिकतामा राखेर काम गर्ने भएको छ ।

रक्षा मन्त्रालयले पहिलो चरणमा ऐतिहासिक महत्वका सात वटा गढी आगामी पाँच वर्षभित्रमा पुनःनिर्माण संरक्षण गर्ने कार्ययोजना बनाएको मन्त्रालयका प्रवक्ता बाबुराम गौतमले जानकारी दिए । मन्त्रालयले पहिलो चरणमा सिन्धुली, मकवानपुर, चिसापानी, जितपुर, नुवाकोट, हरिहरपुर र उपरदाङगढीको पुनःनिर्माणका लागि नेपाली सेनालाई जिम्मेवारी दिने कार्ययोजना अघि सारेको हो ।

मुलुक सङ्घीयतामा गएसँगै स्थानीय तह र प्रदेशले आ–आफ्ना क्षेत्रका गढीको महत्व उजागर गर्ने र संरक्षणतर्फ जोड दिने कार्यलाई प्राथमिकता दिँदै आएका छन् ।

२१ करोड ५९ लाख को लागतमा सेनाले उक्त कार्य गर्नेछ । ऐतिहासिक महत्वका यस्ता गढी किल्ला लगायतका संरचना र सम्पदाको पुनःनिर्माण एवं संरक्षणले मुलुकको पर्यटन प्रवर्धनमा समेत महत्वपूर्ण योगदान पुग्नेछ ।

मुलुकको राष्ट्रिय सुरक्षा र अङ्ग्रेजविरुद्धको लडाइँमा आधार किल्लाका रुपमा प्रयोग भएका गढीको प्रभावकारीरुपबाट संरक्षणको माग भई आएपछि सरकारले गढी संरक्षणको कार्यक्रमसहित विशेष चासो देखाएको हो ।

कमलामाइ नगरपालिका सहित कतिपय स्थानीय तहले गढीको रेखदेख र सुरक्षाको लागि सैनिक टुकडी नै स्थापना गर्नुपर्ने माग गर्दै आएका छन् । सेनाले जेजस्तो अवस्थामा छ त्यसलाई हालसम्म सामान्य रेखदेख गर्दै आएको र पर्यटकीय पुरातात्विकस्थलका रुपमा विकसित गर्ने सोचअनुरुप पछिल्लो समय सेनाबाट पहल हुँदै आएको मन्त्रालयको भनाइ रहेको छ ।

मन्त्रालयका प्रवक्ता बाबुराम गौतम भन्छन्, “पुरातात्विक सम्पदाको संरक्षण र पर्यटन प्रवर्धन गर्ने सन्दर्भमा कतिपय गढीको पुनःनिर्माणका लागि पहल गर्ने सिलसिलामा सरोकार मन्त्रालयबीच पत्रचार भइरहेको छ ।

सेनाको वार्षिक बजेट कार्यक्रममा नपरेता पनि चालू आर्थिक वर्षको बजेटमा गढीको पुनःनिर्माण र संरक्षणका लागि पाँच करोड ५९ लाख बजेट विनियोजन भएको छ ।
रासस

प्रकाशित मिति : १२ मंसिर २०७५, बुधबार ००:००