८ बैशाख २०८१, शनिबार | Sun Apr 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भूकम्पपिडित शंखरापुरबासी भन्छन्ः निर्माण सामाग्री पाउन गाह्रो भयो



आदित्य दाहाल

मंसिर १२, साँखु 

भूकम्पले घर पूर्णरूपमा क्षति भएपछि साँखुका रामबहादुर श्रेष्ठ अहिले पनि भाडाको घरमा बस्दै आएका छन् । ४ जनाको परिवार रहेको उनी विगत ४ वर्षदेखि कहिले जस्ताको टहरो त कहिले भाडाको घरमा बस्दै आएका छन् ।

वि.सं २०७२ वैशाख १२को भूकम्पले घर पूर्णरूपमा ध्वस्त भएपछि लामो समयसम्म पुनःनिर्माण गर्न नसकेका उनी अहिले ऋण गरेर घरको तेस्रो तला ढलान गर्दै छन् । भूकम्प प्रतिरोधात्मक घर बनाउन ठूलो खर्च लाग्ने भएकाले साँखुमा रहेकाआफ्नो ६ आना जग्गा बेचेर निर्माण शुरु गरेको उनले बताए ।

समयमै निर्माण सामाग्री नपाइएको, इँटा, सिमेन्ट, रड निकै महङ्गो भएको र नगरपालिकाको सिफारिशमा उपलब्ध हुने ५० क्युफिट काठ अहिलेसम्म नपाउँदा घर निर्माणमा ढिलाइ भएको उनको गुनासो छ । तेस्रो तलासम्म ढलान गर्दा मात्र ३० लाख रुपैयाँ लागेको र निर्माण सम्पन्न गरिसक्दा ६५ लाख रुपैयाँसम लाग्न सक्ने उनी बताउँछन् ।

शङ्खरापुरका कृष्ण श्रेष्ठले पनि रामबहादुरको जस्तै समस्या आफूले पनि भोगेको बताए । “निकै समस्या र कष्टका साथ घर निर्माण गरियो,” उनले भने, “भनेको समयमा काठ, निर्माण समाग्रीजस्ता अत्यावश्यक बस्तु सहज र उचित मूल्यमा नपाउँदा समस्या परेको छ,” उनले भने, “ “यस्ता समस्या छानबिन गर्न अहिलेसम्म सम्बन्धित निकायबाट कोही आएको छैन, निर्माण समाग्री समयमा र उचित मूल्यमा उपलब्ध हुने हो भने पुनःनिर्माणले गति लिन्थ्यो ।”

भूकम्पले तहसनहस बनाएकोे उक्त नगरपालिकाका बस्ती विभिन्न समस्याका बीच यतिबेला धमाधम पुनःनिर्माण हुन थालेका छन् । महाभूकम्पले क्षतविक्षत बनेको नगरपाकिलाको साँखु बजार, जहरसिंहपौवा, नाङ्लेभारेलगायत बस्ती यतिबेला पुनःनिर्माणको क्रममा छन् । सेवा सुविधाका हिसाबले राजधानी काठमाडौँको नजिकै रहेको नगरपालिकाभित्रका बासिन्दा आवास निर्माणमा अग्रसर देखिन्छन् ।

भूकम्प गएको चार वर्ष बित्नै लाग्दा नगरपालिकाभित्रका १५ वटै वडामा पुनःनिर्माण अगाडि बढेको छ । नगरपालिकामा अझै पनि आफ्नो नाम छुटेको भन्दै गुनासो दर्ता गर्न आउने क्रम बढिरहेको उक्त नगरपालिकाका इञ्जिनीयर मिलन फुयाँलले जानाकारी दिए ।

नगरपालिकाको तथ्याङ्कअनुसार, त्यहाँ ६ हजार ४० भूकम्पपीडित भएकामा दोस्रो किस्ताको अनुदान पाउन २ हजार २२ जनाले निवेदन परेको थियो । त्यसमध्ये १ हजार ९६२ जनाको बैंक खातामा रकम जम्मा भइसकेको र बाँकी अनुदनकै प्रक्रियामा रहेको उनले बताए ।

आवास पुनःनिर्माण सम्पन्न गरेवापत नगरपालिकाले मंसिर ५ गतेसम्म ९ सय ९२ भूकम्पपीडितलाई तेस्रो किस्ताको अनुदान वितरण गरिसकेको छ । तेस्रो किस्ताका लागी दिएका १ हजार २९३ मध्ये ९ सय ९२ भूकम्पपीडितले तेस्रो किस्ता पाएका छन् । नगरपालिकाभित्र भूकम्पमा छ हजार ४५२ घर पूर्णरुपमा क्षति भएको थियो भने ५८७ घरमा आङ्शिक क्षति भएको थियो ।

प्राधिकरणको ध्यानार्कषण

आवास पुनःनिर्माणका लागि भन्दै पहिलो किस्ता रू ५० हजार अनुदान लिएका अधिकांशले अझै पुनःनिर्माण शुरु गरेका छैनन् । प्राधिकरणले अन्य स्थानमा बस्न योग्य घर भएर पनि अनुदान रकम लिने अधिकांशलाई फिर्ता गर्न आग्रह गरेको छ । यसरी अन्यत्र घर भई अनुदानको रकम दुरुपयोग गर्नेलाई कारवाही गरिने भन्दै प्राधिकरणले सो आग्रह गरेको हो ।

पुनःनिर्माण ढिलाइ हुनामा फाइल जाँच र विभिन्न कार्यालयमा चरणवद्ध रूपमा पीडितको अभिलेख राख्ने तथा मापदण्डअनुसारको घर छ÷छैन भनी अनुगमनमा समय लाग्ने भएकाले अनुदान वितरणमा पनि केही ढिलाइ हुन गएको प्राधिकारणले जनाएको छ ।

अनुदान किस्ता समयमै निकासा नहुने, पटक–पटक रोकिने, निर्माण सामग्री, कामदार अभाव, बर्खामा ग्रामीण सडक हिलाम्मे बन्दा निर्माण सामग्री ढुवानीमा समस्यालगायत उल्झनका बीच पीडितले पुनःनिर्माण गर्न सकेका थिएनन् । पटक–पटक प्राधिकरणले अनुदान किस्ता लिने समयसीमा तोकेपछि पुनःनिर्माणले केही गति लिँदै आएको हो ।

गत वर्षको तुलनामा यस वर्ष उक्त नगरपालिकामा आवास पुनःनिर्माणले गति लिएको देखिन्छ । नगरपालिकाभित्र पर्ने ऐतिहासिक शहर साँखु पनि विस्तारै पुनःनिर्माणमा लागिपरेको छ ।

साँखुमा शहरको पुनःनिर्माण कसले गर्ने, नक्सा र प्राविधिक जनशक्ति कसरी व्यवस्थापन गर्नेजस्ता विषय समयमै टुङ्गो नलागेर निर्माणमा ढिलाइ भएको थियो । नगरपालिकाले पुरानै शैलीमा घर पुनःनिर्माण गर्ने निर्णय गरेकाले पनि लामो समयसम्म अन्योल छाएको थियो ।

अहिले विस्तारै साँखु शहरले पुनःनिर्माणको गति लिँदै छ । स्थानीयवासी सङ्गीता श्रेष्ठले पुरानै शैलीको घर पुनःनिर्माण गर्नुभएको छ । घर बनाउन उहाँले रु ९० लाखभन्दा बढी खर्चिनुभयो ।

ऋण लिएर भए पनि आफूले पुनःनिर्माण गरेको उहाँले बताउनुभयो । भूकम्पमा परी नगरपालिकामा मात्र २६ पुरुष र ७२ महिला गरी ९८ को मृत्यु भएको थियो । यहाँ छ हजार ४५२ घर पूर्णरूपमा क्षतिग्रस्त भएको थियो । रासस

प्रकाशित मिति : १२ मंसिर २०७५, बुधबार ००:००