१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाँके जिल्लाका अधिकांश पक्की पुल जीर्ण बन्दै



 

मङ्सिर ७, बाँके । बाँके जिल्लाका विभिन्न सडकमा निर्माण भएका दर्जन बढी साना पक्की पुलहरू जीर्ण बन्दै गएका छन् । निर्माणपछि हालसम्म पनि मर्मत नहुँदा जीर्ण बनेका ती पुल जोखिमपूर्ण पनि भएका छन् ।

सडक निर्माणको जिम्मा लिएका निर्माण कम्पनी, स्थानीय तह र सडक डिभिजन कार्यालयको उदासिनताका कारण दर्जनौँ यस्ता पुल जीर्ण बनिरहेका हुन् । जमुनाह, कोहलपुर हुँदै चिसापनी खडकखण्डमा मात्रै करीब आधा दर्जन पुल जीर्ण भैसकेका छन् भने कोहलपुरदेखि पूर्व शिवखोला र पश्चिम मानखोलासम्मका थुप्रै पुलको अवस्था पनि दयनीय छ ।

चप्परगौडी, रोहिणीखोला, मानखोला, रझेना, बानियाँभार, चिसापानी, गाभरलगायत क्षेत्रका साना पुल जीर्ण भए पनि दैनिक सयौँको सङ्ख्यामा सवारीसाधन गुडिरहेका छन् । पुलको क्षमताभन्दा बढी भारका सवारी साधनले दैनिक यी पुल प्रयोग गर्ने हुँदा पुलमा क्षति हुनसक्ने जोखिम उत्तिकै देखिएको छ । कोहलपुर जमुनाह सडकखण्डका साना पुल (कल्भर्ड) पनि उत्तिकै जीर्ण छन् ।

सडक फराकिलो र मर्मत भए पनि सडकमा रहेका पुल थोत्रा भइसक्दा पनि । यिनको मर्मतका लागि सडक डिभिजनदेखि सडक निर्माण कम्पनीसमेत मौन रहँदै आएको स्थानीयवासीको गुनासो छ । नेपालगञ्जमै पनि बागेश्वरी मन्दिर, सेतु विकचोक, देवाफुलवारीबाट लक्ष्मी हल जाने सडकमा रहेको कलर्भड, सुर्खेतरोडमा रहेको जेवी स्कूल नजिकको पुल, टाँगा स्टेशन लगायत स्थानका साना पुल जीर्ण छन् ।

नेपालगञ्ज उपमहानगरपालिकाका इञ्जीनियर सुरज शर्मा यस्ता धेरै पुलको आयु खस्किसकेकाले तत्काल मर्मत गर्न जरूरी भएपनि यस्ता पुलको मर्मत कसले गर्ने भन्नेबारे अन्योल भएको उल्लेख गर्छन् । सडक डिभिजन कार्यालयले समयमै पुल मर्मतमा चासो नदिँदा पुलको अवस्था कमजोर हुँदै गएको कारकाँदाका गोपाल केसी बताउछन् ।

पुल जीर्ण रहेको अवस्थामा १८ टनभन्दा बढी भारका सवारी साधान चल्न नहुनेमा यहाँ ४० टनसम्मका सवारी साधान चल्दा पनि त्यसलाई रोक्न प्रहरी प्रशासनले कडाइ नगर्दा पुल भाँचिने सम्भावना भएको छ, एक प्राविधिकले भने ।
रासस

प्रकाशित मिति : ७ मंसिर २०७५, शुक्रबार ००:००