४ बैशाख २०८१, मंगलबार | Wed Apr 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रुपनी गाउँपालिकाः वडाध्यक्ष यादवलाई निलम्बन गर्न माग



 

मङ्सिर ५, सप्तरी । भ्रष्टाचार अभियोगमा दोषी ठहरिएका रुपनी गाउँपालिका–१ का वडाध्यक्ष पिताम्बर यादवलाई पदबाट निलम्बन गर्न स्थानीयवासीले माग गरेका छन् ।

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नोकरी गरेको अभियोगमा विशेष अदालतबाट कैद र जरिवानाको सजाय पाएका यादवलाई वडाध्यक्षको पदबाट निलम्बन गर्न सोही वडाका किरणकुमार जायसवालले मङ्गलबार निवेदन दिएका हुन् ।

कानूनबमोजिम यादवलाई निलम्बन गर्न जिल्ला निर्वाचन कार्यालय सप्तरीमा निवेदन परेको जनाउँदै जिल्ला निर्वाचन अधिकारी दिलीपकुमार यादवले आवश्यक कारवाहीका लागि निर्वाचन आयोगमा निवेदनसहित पठाइएको बताए ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ १ बमोजिमको कसुर गरेको पुष्टि भएको भन्दै विशेष अदालतले ०७४ साल पुस २१ गते यादवलाई ६ महीना कैद र १५ हजार जरिवानाको फैसला गरेको छ ।

अख्तियारले छानबिन थालेपछि ०७४ साल जेठ १० गते राजीनामा दिई राजनीति पेशा अपनाएका यादव गत मङ्सिर २ गते भएको स्थानीय तहको निर्वाचनबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनले जिल्ला शिक्षा कार्यालय दैलेखबाट ०६९ साल माघ १५ गतेदेखि प्राविधिक सब इञ्जिनियरिङ पदमा सेवा प्रवेश गरेका थिए ।

सब इञ्जिनियरका लागि चाहिने न्यूनतम योग्यता पास नगरी कम्प्युटरबाट स्क्यानिङ गरी नक्कली प्रमाणपत्र पेश गरेर यादवले जिल्ला शिक्षा कार्यालयमा सब इञ्जिनियरमा नियुक्ति लिई ६ वर्षभन्दा बढी समयदेखि राज्यलाई ठगी गर्दै आएकाले कारवाही गर्न माग गर्दै स्थानीय शिवशङ्करले अख्तियारमा निवेदन दिएका थिए ।

आयोगको ऐनको सार्वजनिक पदधारण गरेका व्यक्तिलाई आयोगले दफा १६ वा दफा १९ को उपदफा ४ बमोजिम थुनामा राखेकामा थुनामा रहेको अवधिभर वा दफा १८ बमोजिम मुद्दा चलेकामा किनारा नभएसम्म पदबाट स्वतः निलम्बन हुने व्यवस्था रहेको कानून व्यवसायी मनोज देवले बताए ।
रासस

प्रकाशित मिति : ५ मंसिर २०७५, बुधबार ००:००