७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सामुदायिक स्वास्थ्य एकाइका लागि भवन निर्माण



 

मङ्सिर ३, म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङको बुलमा सामुदायिक स्वास्थ्य एकाइ स्थापनाका लागि भवन निर्माण भएको छ । भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित बुलका बासिन्दालाई सहजरुपमा गाउँमै स्वास्थ्य सेवा उपलब्ध गराउन पूर्वाधार तयार पारिएको हो ।

गुड नेवर्स इन्टरनेशनलको सहयोगमा कदम र सङ्गम म्याग्दीद्वारा सञ्चालित म्याग्दी सामुदायिक विकास परियोजनाको सहयोगमा बुलका बासिन्दाले श्रमदान गरेर भवन निर्माण गरेका हुन् ।

कदम म्याग्दीमार्फत प्राप्त ९ लाख ३३ हजार र स्थानीयवासीको एक लाख ४७ हजार बराबरको श्रमदानमा एक कोठे पक्की भवन निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष नरबहादुर जुक्जालीले जानकारी दिए ।

भवन तयार भएपछि सामुदायिक स्वास्थ्य एकाइ सञ्चालनका लागि गाउँपालिकामा माग गरिएको उनले बताए । एकाइ सञ्चालन भएमा बुल र मलम्बार गाउँका १५० घरधुरी लाभान्वित हुने जनाइएको छ ।

बुल र मलम्पारका बासिन्दा सामान्य बिरामी पर्दासमेत दुई घण्टाभन्दा बढी समय लगाएर मराङ र मल्कवाङस्थित स्वास्थ्य संस्थामा पुग्न बाध्य छन् । ज्येष्ठ नागरिक, अशक्त, बालबालिका र गर्भवती महिलालाई स्वास्थ्य संस्था टाढा हुँदा सहजरुपमा आधारभूत स्वास्थ्य सेवा पाउनबाट बञ्चित भएका छन् ।

स्वास्थ्य संस्थामा उपचारका लागि जाँदा कतिपयलाई पूरै दिन लाग्ने गरेको छ । भिर, जङ्गल र खोल्साको बाटो हिँड्नुपर्दा जोखिम रहेको बुलकी महिला स्वास्थ्य स्वमसेविका लक्ष्मी केसीले बताइन् ।

बुल र मलम्पराका बासिन्दालाई सहजरुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन सामुदायिक स्वास्थ्य एकाइ स्थापनाका लागि पहल गरिएको धवलागिरि गाउँ कार्यपालिकाको सामाजिक विकास समितिका संयोजकसमेत रहेका वडा नं ६ का अध्यक्ष राजाराम सुवेदीले बताए ।
रासस

प्रकाशित मिति : ३ मंसिर २०७५, सोमबार ००:००