२९ चैत्र २०८०, बिहिबार | Thu Apr 11 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रुपन्देहीका तीन नयाँ पर्यटकीय गन्तव्यको प्रवर्द्धन हुँदै



 

युवराज पाण्डे
मङसिर २, खस्यौली ।

रुपन्देहीको दुई नगरपालिकाका तीन स्थान नयाँ पर्यटकीय गन्तव्यमा परेपछि त्यसको प्रवर्द्धन गर्न थालिएको छ । जिल्लाको सैनामैना क्षेत्र, तिलोत्तमा नगरपालिकाको शङ्करनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) र बाउन्नकोटी सामुदायिक वन उपभोक्ता समूहको बाउन्नकोटीमा पर्यटन प्रवर्द्धनका लागि काम भइरहेको सम्बन्धित नगरपालिकाले जनाएका छन् ।

सैनामैना नगरपालिकाको सैनामैना क्षेत्रमा रहेको ऐतिहासिक तथा पुरातात्विक भग्नावशेष, सैनामैना सङ्ग्रहालय, रानीकुवा, मलमला मन्दिर, महेरहवा बाबा, राजापानी, बौद्ध गुम्बा, लामिरह क्षेत्र, थारु सङ्ग्रहालय, जर्लैया सिमसार क्षेत्र लगायतका स्थानबाट पर्यटकीय आकर्षण बढ्ने नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले जानकारी दिए ।

उनले सैनामैनामा रहेका पर्यटकीय क्षेत्रको प्रवर्द्धन र विकासका लागि स्थानीय तहबाट पनि केही बजेट विनियोजन भएको उल्लेख गर्दै नयाँ पर्यटकीय क्षेत्रको रूपमा छनोट भएपछि प्राप्त हुने अनुदानबाट सडक र पूर्वाधारको क्षेत्रमा काम गर्न सकिने बताए ।

‘सैनामैना नयाँ पर्यटकीय गन्तव्यमा परेपछि यसको वृहत्तर विकासमा जोड दिइनेछ’, नगरपालिका प्रमुख चित्रबहादुर कार्कीले भने । यस बाहेक सैनामैनामा दुई दशकअघिका योगीमूर्ति, दरबारको भग्नावशेष, ओखल, इँटा, माटाका भाँडा, खेलौना र मूर्तिले यस क्षेत्रको प्राचीनता पुष्टी हुने बताइएको छ ।

मायादेवीले यहाँकी मैना नाम गरेकी रानीसँग सैना (मितेनी) लगाएकोले सैनामैना भन्न थालिएको पनि संस्कृतिविद् डा गीतु गिरीले ‘वृहद् लुम्बिनी क्षेत्रका पर्यटकीय गन्तव्य’ नामक कृतिमा उल्लेख गरेका छन् ।

त्यस्तै तिलोत्तमा नगरपालिकाको शङ्करनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) र बाउन्नकोटी सामुदायिक वन उपभोक्ता समूह बाउन्नकोटीमा पनि पर्यटन प्रवर्द्धनका लागि काम भइरहेको नगरपालिका प्रमुख वासुदेव घिमिरेले जानकारी दिए ।

उनले वनवाटिकामा १४ करोडको लागतमा भ्यू टावर निर्माण गर्न लागिएको, खानेपानी, सडकलगायत भौतिक पूर्वाधारको लागि केही बजेट विनियोजन गरेर काम अघि बढाइएको बताए । ‘वनवाटिकामा पछिल्लो समय आन्तरिक पर्यटकको घुइँचो लागेको छ’ नगरपालिका प्रमुख घिमिरेले भने ।

उनले बाउन्नकोटीमा पनि गौशाला, वनभोजस्थल रहेको जानकारी दिँदै पर्यटन प्रवर्द्धनबाट सरकारको लक्ष्य हासिल गर्न सकिने बताए । यी गन्तव्यका लागि वार्षिक ५० लाख भौतिक पूर्वाधारमा खर्च गर्न अनुदान प्राप्त हुने छ ।

सन् २०२० सम्म वार्षिक २० लाख पर्यटन भित्र्याउने र नेपाल भ्रमण वर्ष, २०२० मनाउने सरकारले नयाँ गन्तव्य प्रवर्द्धन गरी पर्यटनमा बहुआयामिक विकासको लक्ष्य लिएको छ । छनोट भएका गन्तव्यमा आवश्यक पूर्वाधार निर्माण प्रवर्द्धन तथा अन्य विकास निर्माणको काम हुने बताइएको छ ।
रासस

प्रकाशित मिति : २ मंसिर २०७५, आइतबार ००:००