Logo

डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडियो



 

नारायण न्यौपाने

मंसिर १, काठमाडौं । नेपाली सेनाको एक दशकको निरन्तर प्रयासले हिमाल पारिको जिल्ला डोल्पाको सदरमुकाम दुनै राष्ट्रिय सडक सञ्जालमा जोडिन सफल भएको छ ।

जाजरकोटको पासागाढबाट सुरू भएर डोल्पाको त्रिपुरासन्दरी सुपानीसम्मको १ स ३ किलोमिटर खण्डको सडकको ट्रयाक नेपाली सेनाले खोले पछि सदरमुकाम दुनै राष्ट्रिय सडक सञ्जालमा जोडिएको हो ।

१ सय १८ किलोमिटर लामो उक्त सडकको सुपानीबाट दुनैतर्फको खण्ड १४ किलोमिटर सडक भने स्थानीय निकाय र संसाद कोषको खर्चमा यसअघि नै ट्रयाक खोलिएको थियो । छिमेकी मुलुक चीन र भारतलाई सडक सञ्जालमार्फत जोड्ने उत्तर दक्षिणको सामरिक महत्व बोकेको उक्त राजमार्गले तिब्बतस्थित मरिम्ला र भारतको रुपेडियाबीच सिधा सम्पर्क जोड्न सकिनेछ ।

प्रदेश नं–६ अन्तर्गतको प्राकृतिक विविधताले परिपूर्ण तथा भूगोलका हिसाबले मुलुककै सबैभन्दा ठूलो डोल्पा जिल्लामा सडक सञ्जाल विस्तार भएसँगै कर्णाली क्षेत्रको विकासमा कायपलट हुने विश्वास गरिएको छ ।

जाजरकोट, रुकुम र डोल्पा समेट्ने उक्त राजमार्ग पहाडी फिडर रोडको अवधारणाअनुरुप निर्माण भएको नेपाली सेनाले जानकारी दिएको छ । उक्त सडकको निर्माणले बाह्रैमहिना चिसो हावापानी रहने ठूला हिमाली घाँसे मैदानसमेत रहेको डोल्पामा उत्पादन हुने बहुमूल्य जडीबुटीले आवश्यक बजार र उचित मूल्य पाउने विश्वास गरिएको छ ।

जाजरकोट–डोल्पा सडकको ट्र्याक खेलेपछि सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम भएपनि स्थानीय जनताले सडक थप विस्तार र सुधारको जिम्मा नेपाली सेनालाई नै दिनुपर्ने माग गर्दै आएका छन् ।

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले उक्त सडक आगामी मङ्गलबार डोल्पाको त्रिपुरासुन्दरीमा उद्धघाटन गर्ने सडक आयोजना कार्यदल प्रमुख प्रमुख सेनानी विश्वबन्धु पहाडीले जानकारी दिए ।

सडक भेरी नदीको किनारै किनार दर्जनौं अक्कर र भिर, पहरा छिचोल्दै तथा रिम्ना, मनमाइतहरा, तल्लो बजार, गोतामकोट, घाडथला, त्रिवेणी, खदाङ, श्रीविन्दे बस्ती र बजार हुदै दुनै पुग्नेछ । सेनाले यसअघि मुलुकमा १ हजार ११४ किलोमिटर सडक निर्माण गरी सरकारलाई हस्तान्तरण गरिसकेको जनाएको छ ।

वि.सं. २०१६ मा काठमाडौँ–हेटौँडा जोड्ने कान्ति लोकमार्गबाट सडक निर्माणमा संलग्न भएको नेपाली सेनाले अहिलेसम्म निकै अप्ठेरा र सामरिक महत्व बोकेका २० वटा सडक निर्माण गरी सरकारलाई हस्तान्तरण समेत गरिसकेको छ ।

जाजरकोट–डोल्पा सडक निर्माणसँगै राष्ट्रिय सडक सञ्जालमा नेपाली सेनाको योगदान १ सय ३ किमी थपिएको छ । सरकारले मुलुकका जिल्ला सदरमुकाममा सडक सञ्जाल पु-याउने नीतिअनुरुप हुम्लाबाहेक ७६ जिल्लामा मोटर बाटोको पहुँच पुगेको छ । डोल्पामा सडकको पहुँच पुगेसँगै शे–फोक्सुण्डो ताललगायतका क्षेत्रमा पर्यटन विस्तारमा ठूलो योगदान पुग्नेछ । रासस

प्रतिक्रिया दिनुहोस्