२ पुस २०८२, बुधबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भत्काइएका घर टहराको मुआब्जा छिटो वितरण गर्न माग



 

कात्तिक २९, बनेपा । बनेपा नगरपालिका वडा नं १४ साँगादेखि धुलिखेल नगरपालिकको बसपार्कसम्मको अरनिको राजमार्गअन्तर्गत सडक मापदण्डभित्र परेको भनी भत्काइएका घर टहराको मुआब्जा छिटो वितरण गर्न पीडितहरूले माग गरेका छन् ।

साँगाका ईश्वर मानन्धरले आफ्नो घर नगरपालिका र भक्तपुर डिभिजन सडक कार्यालयले भत्काएको हप्तौ बितिसक्दा पनि अहिलेसम्म मुआब्जा कहिले पाउने भन्ने नै थाहा पाउन नसकेको भन्दै आक्रोश पोखे ।

सरकारले २०३१ सालअघि बनाएको संरचनाको मुआब्जा दिने भने पनि विसं २०२६ देखि सो स्थानमा घर बनाएर साना होटल सञ्चालन गर्दै आएका उनले हप्तौँ बितिसक्दा पनि मुआब्जा कहिले पाईन्छ भन्नेमा कुनै जानकारी समेत नदिएको बताए ।

“घर भने पनि जग्गा भने पनि त्यही मात्र थियो, अहिले डेरामा बसिरहेका छौँ”, मानन्धरले भने, “सडक विस्तार गरेकामा खुशी छौँ तर हामीले अहिलेसम्म मुआब्जा पाइरहेका छैनौँ, नपाइकन सुकुम्बासी भएर बस्ने रु यो त भएन नि हामी कहाँ गएर बस्ने रु” उनको प्रश्न थियो ।

“नगर प्रमुख लक्ष्मीनरसिंह बादेले दशैँ अगाडि नभत्काउने र भत्काउनुभन्दा अगाडि नियम अनुसार मुआब्जा पाउनेको मुआब्जा वितरण गर्ने भन्नुभएको थियो, तर अगाडि नै भत्कायो”, मानन्धारले भने ।

बनेपा नगरपालिका १४ का वडाध्यक्ष गौरी राउतले नक्सापास अनुसारको मुआब्जा पाउनुपर्ने व्यक्तिको विवरण सङ्कलन गरेर नगरपालिकामा पेश गरी त्यहाँबाट डिभिजन सडक कार्यालयमा पेश गर्ने काम अगाडि बढिसकेको बताए ।

डिभिजन सडक कार्यालयका इञ्जिनीयर गोपालप्रसाद खकुरेलले जिल्लास्थित प्रमुख जिल्ला अधिकारीको अध्यक्षमा बनेको समितिले सबै कागजात सहितको विवरण सङ्कलन गरी पेश गरेपछि मात्रै त्यसका लागि प्रक्रिया अगाडि बढाइने बताए ।

दुई जिल्लाको सिमानामा रहेको सो ठाउँमा सडक मापदण्ड मिचेर बनाएका दर्जनौँ घर टहरा भत्काइएको छ । काभ्रेपलाञ्चोकको साँगादेखि धुलिखेलसम्मको नौ किलोमिटर सडक फराकिलो बनाउन अनाधिकृतरूपमा बनेका घर टहरा भत्काएर सडक फराकिलो बनाउने काम शुरु गरिएको हो ।
रासस

प्रकाशित मिति : २९ कार्तिक २०७५, बिहिबार ००:००