३ मंसिर २०८३, बिहिबार | Thu Nov 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अलमलमा स्थानिय तह न्यायिक समिति

लेखक स्थानीय खबर २८ कार्तिक २०७५, बुधबार २ मिनेट पढाइ

 

कात्तिक २८, बाँके । स्थानीय तहका उपप्रमुखको संयोजकत्वमा गठित न्यायिक समितिले मुद्दा दर्ता गर्नेदेखि फैसला गर्ने सम्मको अधिकार पाए पनि कानूनी सल्लाहकार मुद्दा फैसलामा समस्या भोग्दै आएका छन् ।

अधिकांश समितिमा कानूनी सल्लाहकारको अभावले प्रहरीसंग मिलेर मुद्दा किनारा लगाउने बाहेक अरु विकल्प छैन । अधिकांश स्थानीय तहमा मुद्दा नै परेका छैनन् । परेका मुद्दा पनि केही मिलापत्रमै टुङ्गिने गरेका छन् केही अलपत्रै छन् ।

कर्मचारीको अभाव, इजलासको अभाव र कानूनी सल्लाहकारको अभावमा मुद्दा दर्ता नगरीकनै प्रहरीसंग मिलेर केही मुद्दामा मेलमिलाप गराएको कोहलपुर नगरपालिका अन्तर्गतको न्यायिक समितिका संयोजक सञ्जुकुमारी थारू बताउछिन् । स्थानीय तहमा आउने मुद्दा मेलमिलाप गर्न न्यायिक समितिलाई समस्या हुने गरेको खजुरा गाउँपालिकाका संयोजक एकमाया विक बताउछिन् ।

संविधानको धारा २१७ मा आफ्नो अधिकार क्षेत्र विवाद निरुपण गर्न स्थानीय तहका उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समिति गठन गर्ने व्यवस्था छ । जिल्लाका सबै स्थानीय तहमा न्यायिक सल्लाहकार नहुँदा न्यायिक समितिलाई मेलमिलाप गर्न समस्या भएको हो । स्थानीयतहमा आएका मुद्दा उपप्रमुखले हेर्नुपर्ने भएको कानूनसम्बन्धी ज्ञान नहुँदा समस्या हुने गरेको न्यायिक समितिका संयोजक तथा नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगर बताउछिन् ।

न्याय निरुपणको जिम्मा स्थानीय तहका उपप्रमुखलाई छ तर न्यायिक प्रणालीबारे विषयगत जानकारी अभावले यस्तो अधिकार प्रयोग गर्न चुनौती भएको स्थानीय तहका प्रतिनिधिको भनाइ छ । न्याय सम्पादन ज्ञान अभावले जनप्रतिनिधि अलमलमा परेका छन् । स्थानीय तहका उपप्रमुख र उपाध्यक्ष संयोजक रहेको तीन सदस्यीय न्यायिक समिति गठन गर्ने प्रावधान छ । संवैधानिक अधिकार प्रदान गरिए पनि स्थानीय तहका पदाधिकारीलाई न्यायसम्बन्धी सैद्धान्तिक अवधारणाबारे जानकारी नभएकाले काम गर्न मुस्किल भएको हो ।

आपसी झैझगडा, कलह, सामाजिक द्वन्द्व, घरायसी झैझगडाका मुद्दा स्थानीय तहसम्म पुग्ने गरे पनि न्यायिक सल्लाहकार नहुँदा समस्या हुने गरेको हो । महीनामा चार पाँच घरायसी झैझगडा र लेनदेनका मुद्दा स्थानीय तहसम्म पुग्ने गरेकाले एक पक्ष दोषी र एक पक्षले न्याय पाउँदा दोषी पक्ष न्यायिक समितिप्रति रुष्ट हुने गरेको बताइएको छ ।

संविधानमा न्यायिक समितिको गठनको व्यवस्था भएपनि कानूनी सल्लाहकारको अभावमा समितिले काम अघि बढाउन कठिन भएको छ । न्यायिक समिति गठन भए पनि त्यसले प्रभावकारी रुपमा काम गर्नका लागि स्पष्ट नीति निर्देशन नभएको राप्तीसोनारी गाउँपालिकाका संयोजक धनीकुमारी खत्रीले बताइन् ।

न्यायिक समितिका संयोजकको क्षमता अभिवृद्धिका कार्यक्रम अघि ल्याउन सकेमात्रै न्यायिक समितिले प्रभावकारी रुपमा काम गर्न सक्ने उनको भनाइ छ । न्यायिक समितिमा आउने अधिकांश मुद्दा प्रहरीमा पुग्ने गरेका छन् । सर्वसाधारणलाई यसबारे जानकारी नहुँदा सिधै प्रहरीमा जाने गरेका छन् ।
रासस

प्रकाशित मिति : २८ कार्तिक २०७५, बुधबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।