२९ मंसिर २०८२, आइतबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दाङ देउखुरीको राप्ती नदीमा बनेको पुल जीर्ण बन्दै



 

कात्तिक २८, लमही । दाङ देउखुरीको राप्ती नदीमा बनेको पुल जीर्ण बन्दै गएको छ । पुलको अधिकांश ठाउँको कालोपत्रे उप्किएको छ, भने पुल निर्माणका लागि प्रयोग गरिएका फलामका सामग्रीमा खिया लागेको छ ।

पुल जीर्ण हुँदा दुर्घटनाको जोखिम बढेको स्थानीय रविलाल आचार्यले बताए । “पुलको बीचमा खाल्डाखुल्डी छन्, फलाममा खिया लागेको छ”, उनले भने, “यसले दुर्घटनाको जोखिम बढेको छ ।”

२०५६ सालमा निर्माण भएको उक्त पुल मर्मत नहुँदा जीर्ण बन्दै गएको आचार्यले बताए । नदी किनारमा खुलेका क्रसर उद्योगका सवारी साधन ओहोरदोहोर गर्नुका साथै पुल नजिक हुने अवैध उत्खननले पुल जीर्ण अवस्थामा पुगेको उनको भनाइ छ ।

“पुलमा क्रसर उद्योगका ठूलाठूला गाडी आवतजावत गर्छन्” उनले भने, “पुल नजिकैबाट ढुङ्गा गिट्टी, बालुवा निकाल्ने गरिएको छ, यसले गर्दा पनि पुल जीर्ण बन्दै गएको छ”, स्थानीय चूडामणि पौडेलले भने । पुल निर्माण भएको २० वर्ष पुग्नै लाग्दासमेत मर्मत गर्न कुनै निकायबाट पहल नभएको समेत उनको गुनासो थियो ।

लमही–कोइलाबास सडक अन्तर्गत रहेको उक्त पुलको चौडाइ चार दशमलव २० मिटर छ । पुलमा १८ मेट्रिक टनभन्दा बढी भारबहन भएको सवारी साधन चलाउन नपाइने प्राविधिकको भनाइ छ ।

उक्त पुल हुलाकी सडक अन्तर्गत रहेकाले हुलाकी सडकले मर्मत गर्नुपर्ने सडक डिभिजन दाङका सूचना अधिकारी दुर्गा गौतमले जानकारी दिए । पुल निर्माणका लागि पुल महाशाखालाई जानकारी गराएको समेत उनले बताए ।
रासस

प्रकाशित मिति : २८ कार्तिक २०७५, बुधबार ००:००