३ मंसिर २०८३, बिहिबार | Thu Nov 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालगञ्ज उपमहानगरः ल्याण्डफिल्ड साइट निर्माण अन्तिम चरणमा

लेखक स्थानीय खबर २८ कार्तिक २०७५, बुधबार २ मिनेट पढाइ

 

कात्तिक २८, बाँके । नेपालगञ्ज उपमहानगरपालिका–२३ तेलीयनपुरमा निर्माण भइरहेको ल्याण्डफिल्ड साइट निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । आयोजनाको हालसम्म करीब ७५ प्रतिशत काम सकिएको छ ।

क्षेत्रीय शहरी विकास आयोजना कार्यान्वयन एकाइ नेपालगञ्जका अनुसार ल्याण्डफिल्ड साइट निर्माणस्थलको जग्गासम्बन्धी अदालतमा मुद्दा परेपछि निर्माणमा करीब एक वर्ष ढिलाइ भएको थियो । आठ महिना अघि मात्र निर्माण कार्यले गति लिएको हो । आयोजनाका परामर्शदाता प्रकाशराज शिवाकोटीले फोहर जोख्ने उपकरण राख्ने स्थान, गिट्टी भर्ने, विद्युतीकरण लगायत काम बाँकी छ ।

“यी सबै काम दुई महिनाभित्र गरी सक्नुपर्छ”, उनले भने । मुख्य पूर्वाधार निर्माणको काम सकिएको छ । हाल फोहर भण्डारण गर्ने चार सेलमा गिट्टी भर्ने काम भइरहेको छ । उपकरण आपूर्ति गर्नुपर्ने काम बाँकी रहेको शिवाकोटीले बताए । निर्माणको जिम्मा पाएको ‘रम्की एण्ड एनएएनसी जेभी काठमाडौं’ले अबको दुई महिनाभित्र सक्ने गरी काम गरिरहेको छ ।

विसं २०७३ भदौमा शुरु भएको सो आयोजना २०७४ माघसम्म सम्पन्न गर्ने सम्झौता भएको थियो । समयमै काम पूरा नहुने भएपछि पुनः पुस १६ गतेसम्मका लागि म्याद थप गरिएको छ । ल्याण्डफिल्ड साइट निर्माण पूरा भएपछि एक वर्षसम्म फोहर सङ्कलन गरेर परीक्षणको रूपमा सञ्चालन गरी नेपालगञ्ज उपमहानगरपालिकालाई हस्तान्तरण गरिनेछ ।

नेपालगञ्जमा दैनिक ३५ देखि ३८ टन फोहर जम्मा हुन्छ । ल्याण्डफिल्ड साइटमा दैनिक २४ टन फोहर भण्डारण गर्न सकिनेछ । बाँकी फोहर व्यवस्थापनको उपाय खोजिनेछ । फोहर विसर्जन गर्ने स्थान नहुँदा उपमहानगरपालिकाले जहाँ खाली ठाउँ पायो त्यहीँ फाल्ने गरेको छ ।

एशियाली विकास बैङ्कको ८० प्रतिशत ऋण अनुदान, शहरी विकास कोषको १५ प्रतिशत ऋण तथा नेपालगञ्ज उपमहानगरपालिकाको ५ प्रतिशत सहित कूल ३३ करोड ८८ लाखको लागतमा निर्माण सम्पन्न हुनेगरी सम्झौता भएको हो ।

ल्याण्डफिल्ड साइट सञ्चालनमा आए यहाँको फोहरमैला व्यवस्थापन गर्न सहज हुने नेपालगञ्ज उपमहानगरपालिकाका इञ्जिनीयर प्रकाश डिसीले बताए ।
रासस

प्रकाशित मिति : २८ कार्तिक २०७५, बुधबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।