६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नगरक्षेत्रको फोहरमैला खोलामा फाल्दा वातावरण दुर्गन्धित



 

कात्तिक २५, लहान । फोहर व्यवस्थापनका लागि डम्पिङसाइट नहुँदा सिरहाको गोलबजार नगरपालिकाको बजार क्षेत्रबाट सङ्कलित फोहरमैला नजिकैको खोलामा फ्याँकिदै आएको छ ।

गोलबजार नगरपालिकाले बजार क्षेत्रबाट दिनहुँ सङ्कलन हुने फोहरमैला गोलबजार नजिकै रहेको मैनावती खोलामा फाल्ने गरेकाले त्यस क्षेत्रको वातावरण दुर्गन्धित हुनाका साथै खोला किनारमा फोहरको थुप्रोसमेत बढ्दै गएको छ ।

पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको मैनावती खोलाको पुल नजिक दिनहुँ अव्यस्थित तरिकाले फोहर फ्याँल्दा खोलासँगै रहेको विद्यालय र गाउँबजार प्रदूषित बन्दै गएको स्थानीयवासीले बताएका छन् । खोलामा फ्याँकिने गरेको फोहरका कारण बजार क्षेत्र तथा राजमार्गबाट आवतजावत गर्ने यात्रुसमेत नाक थुनेर हिँड्ने गरेको स्थानीयवासी विजयकुमार सिंह बताउछन् । फोहरको उचित व्यवस्थापन नहुँदा विभिन्न किसिमका रोगसमेत फैलिने सम्भावना रहेको सिंहको भनाइ छ ।

फोहर व्यवस्थापन गरी कुहिने फोहरबाट मल उत्पादन गरी नगरपालिका तथा गाउँपालिकामा समेत आयमा वृद्धि हुनसक्ने अवस्था हुँदाहुँदै पनि नगरपालिकाले त्यसतर्फ उचित ध्यान नदिँदा स्वास्थ्यको जोखिम बढेको सिरहाका सरसफाइदूत धीरेन्द्रकुमार साह बताउछन् ।

केही दिनअघि गोलबजार नगरपालिकाले सूचना जारी गर्दै आफूखुशी फोहर नफाल्न र फालेको भेटिए कारवाही हुने बताए पनि नगरपालिका आफैँले बनाएको ‘समृद्ध र स्वच्छ’ नगरको नारालाई लत्याउँदै खोलामा सिधैँ फोहर फ्याँल्दा आफूहरू समस्यामा परेको स्थानीयवासीको कथन छ ।

यता गोलबजार नगरपालिकाका प्रमुख देवनाथ साहले फोहर फ्याँल्ने कुनै डम्पिङसाइट नहुँदा अस्थायी रूपमा मात्र खोला किनारमा फोहरमैला व्यवस्थापन गरिँदै आएको बताउदै डम्पिङसाइट निर्माणका लागि जग्गा र बजेटसमेत व्यवस्थापन भइसकेकाले छिट्टै निर्माण हुने जानकारी दिए ।
रासस

प्रकाशित मिति : २५ कार्तिक २०७५, आइतबार ००:००