७ पुस २०८२, सोमबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धरहरा निर्माणमा सहयोग गर्ने प्रतिबद्धता



 

कात्तिक १८, काठमाडौं । धरहरा निर्माणको पूर्वाधार तथा सहजीकरणसंग जोडिएका निकाय र स्थानीय समुदायले धरहरा पुनःनिर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा आज आयोजित कार्यक्रममा सहभागीले धरहरा पुनःनिर्माणका लागि त्यहाँ भएका पूर्वाधार हटाएर सहजीकरण गर्ने र भविष्यमा आइपर्ने काममा पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

कार्यक्रममा नेपाल टेलिकम, नेपाल विद्युत् प्राधिकरण, कर्मचारी सञ्चयकोष, नेपाल राष्ट्र बैंक, गोश्वारा हुलाक कार्यालय, महानगरीय ट्राफिक प्रहरी महाशाखा, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, काठमाडौं महानगरपालिका–२२ का वडाध्यक्ष चिनीकाजी महर्जन लगायतले धरहरा पुनःनिर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

टेलिकमका प्रबन्धक झवीन्दलाल उपाध्यायले तत्कालीन र दीर्घकालीन हिसाबले सहज हुने गरी टेलिफोनको लाइन व्यवस्थापन गरेर धरहरा निर्माणमा सहयोग गर्ने बताए । सञ्चयकोषका कायम मुकायम वरिष्ठ प्रबन्धक शान्ता गौतमले धरहरा पुनःनिर्माणलाई सहयोग र स्थानीय समुदायलाई सहज हुने गरी बाटो खोल्न तयार रहेको बताए ।

प्राधिकरणले स्थानीय समुदायलाई सहज हुने गरी बाटोको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सबै निकाय र स्थानीय समुदायसँग समन्वय गरी धरहरा निर्माणको कामलाई अघि बढाइने बताए ।

कार्यक्रममा प्राधिकरणका कार्यकारी सदस्यद्वय ध्रुवप्रसाद शर्मा र डा चन्द्रबहादुर श्रेष्ठ, सहसचिव राजुमान मानन्धर, टेलिकमका निमित्त प्रबन्ध निर्देशक सूर्यभक्त पोखरेल, विद्युत् प्राधिकरणका थिरकुमार खत्री, खानेपानी लिमिटेडका महाप्रबन्धक महेश भट्टराई, महानगरीय ट्राफिक वृत्तका रामकुमार खनाल, नेपाल राष्ट्र बैंक टक्सार महाशाखाका निर्देशक अनुज दाहाल, हुलाक कार्यालयका प्रमुख वेदप्रसाद भण्डारी, धरहराको ठेक्का पाएको कम्पनी जिआइइटिसीका प्रतिनिधि रमन महतो, वडा नं २२ का वडाध्यक्ष महर्जन लगायतले धरहरा पुनःनिर्माणमा सहयोगको प्रतिबद्धता जनाए ।
रासस

प्रकाशित मिति : १८ कार्तिक २०७५, आइतबार ००:००