२ पुस २०८२, बुधबार | Wed Dec 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नगरपालिकाले भत्कायो विद्यालय भवन, कुश्माबजारका सडक फराकिलो बनाइँदै



लक्ष्मीप्रसाद सापकोटा
कात्तिक १३, पर्वत ।

र्वतको कुश्मा नगरपालिका–११ सिल्मीमा रहेको विश्व ज्योति माध्यमिक विद्यालय भवन निर्माणमा लापर्बाही भएको पाइएको छ । भवन ढलानका क्रममा ठेकेदारले चरम लापर्बाही गरेको भन्दै स्थानीयले विरोध गरेपछि नगरपालिकाले खटाएको प्राविधिक टोलीले रड बुनाइ र ढलानमा लापर्बाही भएको जनाएको छ ।

भवनको छत ढलान गर्दा सामान्यतः पाँच इन्च मोटाइ हुनुपर्नेमा तीन इन्च पनि नभएको र ढलान ठाउँठाउँबाट खसिसकेको देखिएकाले ढलान भत्काइएको छ । भवनको ढलान गर्ने क्रममा टेका क्रस नभएको, जग कमजोर भएको, तोकिएको मापदण्ड अनुसार रड प्रयोग नगरिएका कारण ढलानमा लापर्बाही भएको भन्दै स्थानीयवासीले नगरपालिकामा गुनासो गरेका थिए ।

अनुगमनमा गएका प्राविधिक दीपक थापाका अनुसार बिम, स्ल्याप, लेभल, थिकनेस मापदण्ड अनुसार छैन । “यही कारण भत्काउनुपर्ने बाध्यता भएको हो”, थापाले भने, “कमजोरी ढलानमा पाएका छौँ ।” शिक्षा विकास तथा समन्वय एकाइ पर्वतका प्रमुख उद्धिमराज पौडेलले आफूहरूले प्राविधिकसँग सहकार्य गरेर काम गर्न भने पनि त्यस अनुसार काम नगर्दा भवन निर्माण त्रूटी भएको बताए ।

“भवनको पिल्लर र बिमसमेत बाङ्गिएको पाएपछि हामीले काम रोक्नुहोस् भनेका हौँ” उनले भने, “तर साँझमा हतारहतार ढलान गर्नुभएछ । कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले काम नरोकेमा भुक्तानी नदिने बताउँदा समेत टेर्नुभएन ।”

तत्कालीन जिल्ला शिक्षा कार्यालय पर्वतबाट भवन अनुदान अन्तर्गत ३६ लाखको लागतमा भवन निर्माण प्रारम्भ गरिएको थियो । निर्माणको ठेक्का तेह्रथुमका निर्माण व्यावसायी रामकुमार लिम्बूले लिएका थिए । विद्यालयका प्रधानाध्यापक खिमलाल गौतमका अनुसार भवन निर्माणका लागि आवश्यक कामदार र सबै सामग्री खरिद गर्ने गरी प्राप्त भएको कूल बजेट ३६ लाखमा ठेक्का सम्झौता भएको थियो ।

निर्माणको जिम्मा लिएका लिम्बूले भने काम गर्ने क्रममा मिस्त्रीका कारण गल्ती भएको स्वीकार गरेका छन् । उनले सम्झौता भएको बजेटबाटै पुनः ढलान गरी तोकिएको मापदण्ड अनुसार निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कुश्माबजारका सडक फराकिलो बनाइँदै

कुश्मा नगरपालिकाभित्रका सडक न्यूनतम आठ मिटर फराकिलो बनाउन थालिएको छ । कुश्मा नगरपालिकाले सडक फराकिलो बनाउन आसपासका घरटहरा भत्काउन शुरु गरेको छ । नगरभित्रका सबै सडक न्यूनतम मापदण्डका बनाउने गरी सडकमा परेका संरचना भत्काउने काम थालिएको हो ।

गत वर्ष प्राविधिक लगतसहित सडक मापदण्ड कायम गरिएको थियो । त्यसअनुसार अहिले उपल्लो बजारको चाक्लेको डिलदेखि बडागाउँसम्मको सडक चौडा पार्ने काम भइरहेको कुश्मा नगरपालिका–५ की अध्यक्ष चित्रकला शर्माले जानकारी दिइन् । नगरपालिकाको न्यूनतम मापदण्डअनुसार रिङरोड बनाउने अभियान शुरु भएको हो । नगरप्रमुख रामचन्द्र जोशीका अनुसार अघिल्लो वर्षबाटै नगरको सडक न्यूनतम मापदण्डको बनाउने योजना रहेकोमा अहिलेदेखि काम शुरु भएको हो ।

पाँच दिनयता दुई डोजर परिचालन गरेर नगरपालिकाले चाक्लेको डिल, बौद्ध गुम्बा, उद्योग वाणिज्य सङ्घ, कल्लेरी जाने बाटो, मेलमिलापचोक र लभ्लीडाँडा लगायतमा सडक मापदण्डभित्र परेका घरटहरा भत्काउन थालिएको हो । संरचना भत्काउन थालेपछि आसपासका बासिन्दाहरू आफैँ पनि कस्सिएका छन् । डोजरले लथालिङ्ग पारेर भत्काउनुभन्दा आफैँले भत्काइदिएको कुश्मा–५ का टङ्कनाथ रेग्मीले बताए ।

नगरपालिकाले स्थायी संरचना र ऐतिहासिक महत्व जोडिएका मठमन्दिर भने तत्काल नभत्काइने जनाएको छ । त्यस्तै अतिविपन्न परिवारका संरचना पनि सकेसम्म जोगाइने वडाध्यक्ष शर्माले जानकारी दिइन् । “केही महत्वपूर्ण संरचना जोगाउनैपर्ने भए त्यसमा तत्काल क्षति नपुग्ने गरी सडक कालोपत्रे गर्ने बेलासम्म स्थायी व्यवस्थापन गरिने उनको भनाइ छ । सडक कालोपत्रे गर्ने समयमा भने न्यूनतम आठ मिटरकै बनाइने उनले बताइन् ।

नगरपालिकाले धमाधम घरटहरा भत्काउन थालेपछि केही स्थानीयले विरोध जनाएका छन् । उनीहरुले बिनासूचना घरघरै डोजर चलाउँदा कतिपय संरचना जोगाउन नसकिएको बताए । नगरको विकास विरोधी नभई सूचना नपाएकामा आपत्ति भएको स्थानीय विष्णु नेवारले गुनासो गरेका हुन् ।

नगरपालिकाले भने केही दिनअघि ठाउँठाउँमा सूचना टाँस गरेर मात्रै काम शुरु गरेको जनाएको छ । जनप्रतिनिधिले कुश्माको मुख्य बजार क्षेत्रमा चक्रपथ बनाउनैपर्ने भएकाले यो कदम चालिएको बताएका छन् । शहरी विकासबाट यहाँको सबै सडक कालोपत्रे गर्न टेण्डर परिसकेको नगरप्रमुख जोशीले बताए । अहिले सडक चौडा नगरिदिने हो भने आएको बजेट पनि फिर्ता हुने भएकाले सडक विस्तार अभियान थालिएको जोशीले बताए । उनले नालीसहित आठ मिटरको सडक बनाइने बताए ।

सडक बिस्तार अभियान अन्तर्गत नगरपालिकाले दुई साताभित्र आठ मिटर मापदण्ड पुग्ने गरी पूर्वाधार फराकिलो पारिसक्ने जनाएको छ । त्यसलगत्तै नाली बनाउन थाल्ने योजना छ । आवश्यकता अनुसार नाली र कल्भर्ट लगायतका संरचना निर्माण भएपछि चालु वर्षभित्रै कालोपत्रेको काम शुरु हुने नगरपालिकाले जनाएको छ । कुश्मामा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ्दै गएका बेला सडक व्यवस्थित बनाउन सकेमा सबैको लागि सहज हुने नगरप्रमुख जोशीको भनाइ छ ।
रासस

प्रकाशित मिति : १३ कार्तिक २०७५, मंगलबार ००:००