५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

व्यास नगरपालिकाद्वारा पर्यटन प्रवर्धन समिति गठन



 

कात्तिक ९, दमौली । व्यास नगरपालिकाले नगर क्षेत्रभित्र रहेका पर्यटकीयस्थलको पहिचान एवं प्रवर्धनका लागि पर्यटन प्रवर्धन समिति गठन गरेको छ । नगर कार्यपालिकाको बिहीबार बसेको बैठकले व्यास नगरपालिका २ का अध्यक्ष काशीराम श्रेष्ठको अध्यक्षतामा सो समिति गठन गरेको हो ।

समितिको सदस्यहरूमा इञ्जिनीयर ध्रुव पण्डित, सन्तोष श्रेष्ठ, केबी थापा, सुशीला शर्मा, आशा दरै रहेका छन् भने समितिको विशेषज्ञ सल्लाहकारमा तनहुँ पर्यटन विकास समितिका अध्यक्ष हरिसिं गुरुङ तथा सदस्य–सचिवमा नगरपालिकाका शाखा अधिकृत विमल गिरी चयन भएका छन् ।

बैठकले नगर प्रमुख बैकुण्ठ न्यौपानेको संयोजकत्वमा नगरस्तरीय समुदाय–प्रहरीपालिका समितिसमेत गठन गरेको छ । सो समितिको सहसंयोजकमा नगरपालिकाका उपप्रमुख मीरा जोशी र जिल्ला प्रहरी कार्यालयका जेष्ठ प्रहरी अधिकृत रहेका छन् भने सदस्यमा व्यास नगरपालिका १० का अध्यक्ष तुलसीराम सापकोटा रहेका छन् । बैठकले स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम अन्तर्गत विविध कार्यक्रम कार्यान्वयनका लागि सिफारिस गरी पठाउने निर्णय गरेको अध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

साथै विपद् व्यवस्थापनका लागि हरेक वडाबाट एक एक जना कर्मचारीसमेत सहभागी हुने गरी अग्नि नियन्त्रण टोली र नगर प्रहरी गरी २४ जनालाई तालीम प्रदान गर्ने, सामुदायिक विद्यालय एकीकरण प्रक्रियालाई अगाडि बढाउन आवश्यक गृहकार्यका लागि नगर शिक्षा समितिमार्फत सम्भाव्यता अध्ययन गर्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्राकृतिक प्रकोपबाट १२ ले ज्यान गुमाए

प्राकृतिक प्रकोपबाट तनहुँ जिल्लामा एक वर्षको अवधिमा १२ जनाले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०७४/७५ मा बाढी अबिरल वर्षा, चट्याङ, हावाहुरी, आगलागीबाट १२ जनाको मृत्यु भएको हो । बाढी र अबिरल वर्षाका कारण छ जनाको मृत्यु भएको छ भने दुई बेपत्ता छन् । त्यस्तै चट्याङबाट दुई जनाले ज्यान गुमाएको प्रहरी उपरीक्षक शिद्धीविक्रम शाहले जानकारी दिए ।

हावाहुरी र असिनाबाट एक जनाको मृत्यु भएको छ भने चार घाइते भएका छन् । त्यस्तै आगलागीबाट तीन जनाले ज्यान गुमाएका र तीन घाइते भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । सोही अवधिमा आगलागीका कारण ८६ चौपायाको मृत्यु भएको र १४ चौपाया घाइते भएका थिए ।

प्राकृतिक प्रकोपका कारण ३३ घर र २३ गोठमा क्षति पुग्नुका साथै एक करोड पाँच लाख सात हजार बराबरको भौतिक संपति क्षति भएको प्रहरीले जनाएको छ । हावाहुरी र असिनाले ११ घरमा क्षति पुगेको आगलागीबाट २२ घर नष्ट भएका थिए ।
रासस

प्रकाशित मिति : ९ कार्तिक २०७५, शुक्रबार ००:००