२ पुस २०८२, बुधबार | Wed Dec 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खच्चरका घण्टीले गुञ्जायमान सडकमा मोटरसाइकल



 

रामचन्द्र न्यौपाने
कात्तिक ९, त्रिपुराकोट ।

वर्षौंदेखि यातायातको सुविधा नहुँदा सास्ती भोग्दै आएका डोल्पालीको जीवनशैली बिस्तारै फेरिन थालेको छ । गत १६ असोजदेखि डोल्पा पूर्ण रूपमा राष्ट्रिय सडक सञ्जालमा जोडिएकाले यातायातको असुविधा हट्न थालेको हो ।

डोल्पालाई सडक सञ्जालमा जोड्नका लागि जाजरकोटको पासगाडबाट सडक डोल्पा दुनैसम्मको कच्ची ट्र्याक खुलिसकेकाले यातायातका साधन पनि भित्रिन थालेका छन् । लम्बाइ ११७।७ किमी रहेको जाजरकोट–डोल्पा सडकखण्डको निर्माण कार्य पूरा भएसँगै डोल्पालीको जीवनशैलीमा परिवर्तन हुन थालेको त्रिपुरासुन्दरी नगरपालिका–१ का तुलबहादुर बोहोराले बताए ।

“उक्त नगरपालिकाको वडा नं ५ खदाङसम्म गाडी गुड्छ, अब खदाङ–त्रिपुराकोटखण्डको चुँगाडसम्म गाडी सञ्चालन हुने खबर पाएका छौँ,” बोहोराले भने, “यातायातको असुविधाले चरम सास्ती भोगिरहेका डोल्पालीलाई दैनिक उपभोग्य सामग्री ढुवानीदेखि जिल्ला बाहिर जानसमेत सहज हुनेछ।” चुँगाडसम्म सडक जोडिएसँगै धमाधम मोटरसाइकल भित्रन थालेका छन् ।

डोल्पासम्म पूर्णरुपमा ट्र्याक खुलेको एक महीना नबित्दै दर्जनौँ मोटरसाइकल भित्रिसकेको चुँगाडका बासिन्दाले बताए । हिजो खच्चडका घण्टीले गुञ्जायमान हुने बाटोमा आजभोलि मोटरसाइकलका हर्न बज्न थालेका छन् । तीन–चार महीना पहिलासम्म मान्छे हिँड्न मुस्किल पर्ने साँघुरो बाटोलाई चौडा सडक बनाइएपछि धेरैजसो पर्यटक डोल्पा हेर्नकै लागी मोटरसाइकल लिएर आउने गरेका हुन् ।

यहाँको त्रिपुरासुन्दरी मन्दिर, शे–फोक्सुण्डो ताल, शे–गुम्बा, सुलिगाड झरनाहरू मुख्य पर्यटकीय गन्तव्य हुन् । कुनै बेला पूर्ण रूपमा खच्चडमा निर्भर डोल्पाली आजभोलि मोटरसाइकल कुदेको देख्न पाउँदा खुशीले दङ्ग छन् ।

“विकासको मुख्य कडी भनेको सडक नै हो, डोल्पासम्म सडक जोडिएपछि हामी खुशी छौँ, कुनै बेला हप्तौँ हिँडेर नेपालगञ्ज पुग्नुपर्ने बाध्यता टरेको छ, अब घरबाट हिँडेको दुई दिनमै गन्तव्यसम्म पुग्न सकिन्छ,” त्रिपुराकोटका कालुप्रसाद हमालले भने । सडक जोडिएसँगै दुई खुट्टा र थाप्लोको भरमा बाँचेका डोल्पालीमा खुशीको सीमा नै नरहेको उनको भनाइ थियो ।

यसअघि दैनिक उपभोग्य सामग्री ढुवानी गर्नका लागि रुकुमको चौहरजारी, राडिज्युला, गोतामकोट, जाजरकोटको रिम्ना, तल्लुबगर लगायत बजारमा पुग्नुपर्ने बाध्यता थियो । “पहिला घोडा, खच्चड, याक लिएर सामान ढुवानीका लागि छिमेकी जिल्ला रुकुम र जाजरकोट पुग्दा समय तथा पैसा दुवै खर्च हुन्थ्यो, अहिले खदाङ्सम्म मोटर र ट्र्याक्टर आउँछन्, खच्चड लिएर पनि तीन घण्टामै खदाङ् बजार पुगेर सामान हालेर घर फर्कन सकिन्छ,” खच्चड व्यवसायी खम्बलाल कठायले भने ।

“डोल्पासम्म बाटो खुलिसकेकाले अब खच्चडको भर पर्नुपर्ने बाध्यता छैन, सयौँ खच्चडले ल्याउने सामान एउटै ट्र्याक्टरले सजिलै भनेकै ठाउँमा पु¥याउन सक्छ, अब डोल्पालीका सुखका दिन आउन थालेका छन् ।”
रासस

प्रकाशित मिति : ९ कार्तिक २०७५, शुक्रबार ००:००