२ पुस २०८२, बुधबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गोकुलेश्वर खार खलङ्गा सडकः दुई दशकसम्म ग्राभेल हुन सकेन



 

कात्तिक २, दार्चुला । गोकुलेश्वर खार खलङ्गा सडक दुई दशकसम्म पनि अझै ग्राभेल हुन सकेको छैन । महाकाली लोकमार्गको दार्चुला खलङ्गा जोड्ने वैकल्पिक छोटो मार्गको रुपमा प्रयोग गर्न सकिने गोकुलेश्वर खार खलङ्गा सडक निर्माण शुरु भएको बीस वर्ष बितिसक्दा पनि अझै अलपत्र छ ।

आर्थिक वर्ष ०५५/५६ मा निर्माण शुरु भएको सडकमा ०७३/०७४ मा अस्थायीरुपमा ट्रयाक खुलाइएको थियो । कूल ४४ किलोमिटर सडक निर्माण बेलाबेला पहिरोका कारण अवरुद्ध हुने गरेको छ । असारमा आएको बाढीका कारण सो सडकखण्ड पूरै अवरुद्ध भएको थियो । कूल ४४ किलोमिटर सडकमध्ये गोकुलेश्वरको कर्कलेदेखि २८ किलोमिटर र खलङ्गादेखि सात किलोमिटर सडकको अस्थायी ट्रयाक खुलाउन कामको लागि खाद्यान्न कार्यक्रमले पहल गरेको थियो ।

उक्त कार्यक्रम बाहिरिएपछि सडक निर्माणको जिम्मा ग्रामीण विकेन्द्रीत तथा पूर्वाधार कार्यक्रमले लिएको थियो । सडक निर्माणको लागि भएको खर्च विवरण उपलब्ध नगराइएको र अहिलेसम्म पनि सडक ग्राभेल गर्नेतर्फ कसैले ध्यान नदिँदा सो सडक सञ्चालनमा समस्या भएको स्थानीयबासी बहादुर टमटाले बताए ।

वैकल्पिक सडक हुँदाहुँदै पनि सडक निर्माण अब कसले गर्ने भन्ने अन्योल रहेको नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीले बताए । गत वर्षसम्म सडक डिभिजन कार्यालय पाटन बैतडीले ठाउँठाउँमा सडक खुलाउने काम गरेको थियो । अहिले सडक प्रदेश मातहत रहने कि केन्द्रीय राजमार्ग अन्तर्गत राख्ने भन्ने कुरा उठ्दै आएको छ ।

उक्त सडकलाई प्रदेशको गौरबको योजनाको रुपमा अघि बढाउने गरी छलफल भइरहेको प्रदेश सभासद् मानबहादुर धामी सन्तोषले बताए । “अहिले नै सडक प्रदेश मातहत जाने पक्कापक्की भएको छैन,” उनले भने, “तर यो सडकलाई सदरमुकामदेखि होपरीगाड, सिप्टी, मार्मा र अपि हिमाल जोड्ने गरी प्रदेश गौरवको योजना बनाउने सोच बनाएका छौँ ।”
रासस

प्रकाशित मिति : २ कार्तिक २०७५, शुक्रबार ००:००