७ मंसिर २०८३, सोमबार | Mon Nov 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सडक अतिक्रमण हटाउँदै वीरगञ्ज महानगरपालिका

लेखक स्थानीय खबर १७ आश्विन २०७५, बुधबार २ मिनेट पढाइ

 

असोज १७, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सडक, पेटी अतिक्रमण गरी बनाएको घर टहरा तथा जथाभावी राखिएका सामान हटाउने कार्य अघि बढाइएको छ ।

अस्तव्यस्त वीरगञ्जलाई व्यवस्थित गर्न नागरिकस्तरबाट शुरु गरिएको ‘व्यवस्थित वीरगञ्ज’ शहर अभियानको पहलमा सडकको अतिक्रमण हटाउने कार्यको थालनी गरिएको हो । सडक पेटीमा जथाभावी टहरा निर्माण गर्ने, पुराना गाडीलगायत सामग्री राखेर आवागमन ठप्प पारेपछि अभियान सञ्चालन गरिएको अभियानका संयोजक दिलीपराज कार्कीले बताए ।

सडक अतिक्रमण गरेर जथाभावी सामान थुपारिँदा सवारी सञ्चालनमा अवरोध हुन थालेपछि अभियानको पहलमा महानगरपालिका, स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय समेतको सहकार्यमा सामग्री जफत गरी कारवाही गर्न थालिएको हो ।

बुधबार वीरगञ्जको बाइपास सडकखण्ड अन्तर्गत बसपार्कदेखि ब्रह्मचोक सम्मको सडकमा भएको अतिक्रमण हटाइएको छ । संयुक्त टोलीले वीरगञ्जको बाइपास सडकमा बसपार्कदेखि उत्तरतर्फ अतिक्रमण हटाएको प्रहरी उपरीक्षक रेवती ढकालले बताए । पटकपटक सूचना गरेर त्यस्ता सामान हटाउन अनुरोध गर्दा पनि व्यवसायीले अटेर गर्दै आएपछि सो अभियान थालेको बताइएको छ ।

यसरी सडकबाट उठाइएका गाडी बसपार्कमा, अन्य सामग्री नेशनल ट्रेडिङमा राख्ने गरिएको र निर्माण सामग्रीहरु लगेर सडकका खाल्डाखुल्डी पुर्न महानगरपालिकाले प्रयोग गरेको छ । सामान धनीले आफैँ सामान नहटाएपछि जफत गरी जरीवाना असुल गर्न थालिएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा भीष्मकुमार भुसालले जानकारी दिए ।

महानगरपालिकाले जफत गरेको सामग्रीबाट ४० हजारभन्दा बढी जरिवाना असुल गरिसकेको छ । त्यसैगरी छाडा पशु चौपाया नियन्त्रण अभियानबाट पनि ४० हजार जरिवाना उठिसकेको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुसालले जानकारी दिए । यो अभियानका कारण यातायात तथा पैदल यात्रुलाई आवागमनमा सजिलो भएको नगरवासीको भनाइ छ ।
रासस

प्रकाशित मिति : १७ आश्विन २०७५, बुधबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।