६ पुस २०८२, आइतबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सतर्कता अनुगमन स्थानीय तहमा केन्द्रित



 

असोज ११, काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले स्थानीय तहमा अनुगमनलाई केन्द्रित गरेको छ । स्थानीय तहमा सर्वसाधारणको काम अघि बढेकाले अनुगमनलाई केन्द्रित गरिएको केन्द्रका सहसचिव विष्णुराज लामिछानेले जानकारी दिए । स्थानीय तहको काम कारवाहीमा गुनासोसमेत बढेकाले अनुगमनलाई केन्द्रित गरिएको हो ।

केन्द्रले पहिलो चरणमा १४ वटा स्थानीय तहको अनुगमन शुरु गरेको छ । ती १४ स्थानीय तहमा सात समूह बनाई केन्द्रले अनुगमन गरेको छ । “जिल्लास्थित कार्यालयभन्दा स्थानीय तहमा सेवाग्राहीका काम बढेको छ” उनले भने, “त्यही भएर जनताका काम स्थानीय तहले कसरी गरेका छन् भनेर अनुगमन केन्द्रित गरेका हौँ ।” पहिले केन्द्रले जिल्लास्थित कार्यालयमा अनुगमन गर्ने गर्दथ्यो ।

अनुगमन टोलीले कार्यालयको छड्के निरीक्षक गर्ने, पोशाक लगाउने, सेवाग्राहीसँग सेवा प्रवाहबारे सोधपुछ गर्ने र नागरिक वडापत्रअनुसार काम भएको छ कि छैन भनेर अनुगमन गर्ने छ । केन्द्रले गत आर्थिक वर्षमा ५४ जिल्लाका एक हजार १०२ कार्यालयको अनुगमन गरेको थियो । भ्रष्टाचार, विकासमा लापर्वाही, घुस मागेको सम्बन्धमा साउन यता ३१८ वटा उजुरी आएको प्रवक्ता लामिछानेले जानकारी गराए । त्यसमा धेरै उजुरी स्थानीय तहका छन् ।
रासस

प्रकाशित मिति : ११ आश्विन २०७५, बिहिबार ००:००