१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मावा खोला उत्खनन् रोक्न स्थानीयवासीको माग



 

सुमन घिमिरे
असोज ११, उर्लाबारी ।

जथाभावी रुपमा खोला उत्खनन भएकाले त्यसलाई रोक्न मोरङ उर्लाबारीस्थित मावा खोला आसपासका बासिन्दाले माग गरेका छन् । अनियन्त्रित र मापदण्ड विपरीत नदीजन्य पदार्थ निकासीका कारण उर्लाबारी मुख्य चोक नै जोखिममा परेको भन्दै स्थानीयवासीले उत्खनन रोक्न माग गरेका हुन् ।

स्थानीयवासीले मोहनप्रसाद भण्डारीको संयोजकत्वमा मावा खोला उत्खनन नियन्त्रण संयुक्त समिति नै निर्माण गरेर जथाभावी भइरहेको उत्खनन रोक्न माग गरेका हुन् । सो समितिले उर्लाबारी नगरपालिका–६ का साथै सीमामा रहेको झापाको दमक नगरपालिका ३ र ४ वडा कार्यालय तथा उर्लाबारी नगरकार्यपालिका र दमक नगर कार्यपालिकामा पनि जथाभावी रुपमा भइरहेको खोला उत्खनन रोक्न माग गरेता पनि चासो नदिएको संयोजक भण्डारीले गुनासो गरे ।

सो समितिले प्रदेश सांसद कुशलसाम्बा लिम्बू, प्रतिनिधिसभा सांसद घनश्याम खतिवडाका साथै प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीको पनि ध्यानाकर्षण गराउँदै मावा खोलाबाट जथाभावी रूपमा बालुवा र गिट्टी उत्खनन भई निकासी भइरहेकाले त्यसलाई रोक्न माग गरेको स्थानीयवासी सुरेश राउतले बताए । सो खोलाबाट टिपर र ट्र्याक्टरले जथाभावी बालुवा र गिट्टी झिकेर लैजाँदा खोला करीब छ मिटरसम्म गहिरिएको छ ।

खोला गहिरिँदै गएकाले खोला किनारमा बनाइएका स्परसमेत भत्किन थालेका छन् । स्थानीय तहले नियमित रुपमा अनुगमन नगर्दा टिपर र ट्र्याक्टरले जथाभावी रुपमा खोला उत्खनन गर्दा खोला नजीकै रहेको सिद्धेश्वर शिवधाम मन्दिर, उर्लाबारी नगरपालिकाको निर्माणाधीन बसपार्कसहित स्थानीयवासीका तीन सयभन्दा बढी घर जोखिममा रहेको राउतले बताए ।

“जथाभावी उत्खनन गर्दा खोला गहिरो भएकाले खेतीबालीमा पानी लगाउन समस्या हुने गरेको छ”, उनले भने, “यदि तटबन्ध फुटे उर्लाबारी मुख्य चोकमै ठूलो क्षति पु¥याउनेछ ।” जथाभावी खोला उत्खननको विषयमा वडा कार्यालयदेखि प्रदेश सरकारसम्म जानकारी गराएको बताउँदै राउतले भने, “समयमै खोला उत्खननमा रोक नलगाए उर्लाबारीवासीले ठूलो नोक्सानी व्यहोर्नुपर्नेछ ।”

मोरङ र झापा जिल्लाको सीमामा रहेको सो खोलाबाट दैनिक करीब ३०० भन्दा बढी टिपर र ट्र्याक्टरले बालुवा, गिट्टी लैजाने गर्दछन् । “बिहानको ३ देखि रातको ११ बजेसम्म नै ट्र्याक्टर खोला पस्ने गर्दछन्”, स्थानीयवासी जीवन आचार्यले भने, “स्थानीय सरकारले यसको अनुगमन नगर्दा ठूलो समस्या निम्तिने देखिएको छ ।”

विगत सात आठ वर्षदेखि मावा खोलामा भइरहेको उत्खननले खोलाको गहिराइ छदेखि आठ मिटरसम्म भइसकेकाले अब एक दुई वर्ष उत्खनन रोक्न वा मावा खोला पुलको दक्षिणपट्टि मात्र उत्खनन गर्न माग गरिएको आचार्यले बताए ।

मावा खोला पुलको दक्षिणपट्टि भने उत्खनन नहुँदा खोलाको भाग अग्लो भएको छ । जसले गर्दा सो क्षेत्रमा मानव बस्तीभन्दा खोला अग्लो हुँदा सो क्षेत्रमा पनि जोखिम बढेको उनले बताए । त्यस्तै मावा खोलामै दमक ३ मा सात वटा बालुवा प्रशोधन उद्योग सञ्चालन गर्दा नदी किनार, आसपासका मानव बस्ती र कृषियोग्य भूमिमा क्षति पुगेको स्थानीय बासिन्दाले गुनासो गरेका छन् ।

मावा खोलामा नदीजन्य पदार्थ निकासीका लागि उर्लाबारी नगरपालिका र दमक नगरपालिकाले समन्वय नगरी ठेक्का लगाउँदा समस्या निम्तिएको उत्खनन नियन्त्रण समितिका अध्यक्ष भण्डारीले गुनासो गरे ।

उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले जनप्रतिनिधि आउनुभन्दा अघि जथाभावी उत्खनन भए पनि अब त्यो कार्य हुन नदिने बताए । नगरपालिकाले खोला ठेक्कामा लगाइसकेकाले खोलाको उत्खनन र निकासीको नगरपालिकाले निगरानी गर्ने प्रतिबद्धता जनाए ।
रासस

प्रकाशित मिति : ११ आश्विन २०७५, बिहिबार ००:००