१८ बैशाख २०८१, मंगलबार | Tue Apr 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

म्याग्दीः केन्द्रीय प्रसारण लाइनको विद्युत विस्तारमा तीव्रता



 

सन्तोष गौतम
असोज ११, म्याग्दी ।

पहाडी जिल्ला म्याग्दीमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार योजनाले प्राथमिकता पाएको छ । स्थानीय तह, प्रदेश र सङ्घीय सरकारका जनप्रतिनिधि तथा निकायले दुर्गम ग्रामीण वस्तीमा केन्द्रीय प्रसारण लाइनको विद्युत सेवाको पहुँच विस्तारमा प्राथमिकता दिएका हुन् । म्याग्दीमा विद्युत् विस्तारका लागि चालु आर्थिक वर्षमा सङ्घीय सरकारको ऊर्जा तथा जलस्रोत मन्त्रालयले पन्ध्र करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

गण्डकी प्रदेश सरकारले आगामी २ वर्षभित्र सबै वस्तीमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार गर्ने घोषणा गरेको छ । स्थानीय तहहरुले पनि विद्युत् विस्तारका लागि प्राथमिकताका साथ बजेट विनियोजन गरेका छन् । सर्वसाधारणको दैनिक जीवनयापनलाई सहज बनाउन विद्युत् सुविधा विस्तारमा प्राथमिकता दिइएको प्रतिनिधिसभा सदस्य भूपेन्द्र थापाले बताए ।

“विगतमा बढीमा चार करोड रुपैयाँसम्म बजेट विनियोजन हुने गरेकामा यस वर्ष कम्तीमा पन्ध्र करोड रुपैयाँ विनियोजन भएको छ,” बेनीमा पत्रकारहरुसँगको भेटघाटमा सांसद थापाले भने । नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रले सञ्चालन गर्ने विद्युतीकरण विस्तार योजनाका लागि पाँच करोड बीस लाख रुपैयाँ विनियोजन भएको छ ।

दरवाङ, बिम, ताकम, रुम, निस्कोट, अर्मन, मुना, मुदी, गुर्जा, मराङ, मल्कवाङ, ओखरबोट र कुइनेमंगलेमा लाइन विस्तार र ट्रान्सफर्मर जडानका लागि दुई करोड ८४ लाख रुपैयाँ छुट्टिएको छ । धवलागिरि गाउँपालिकाको मुना र मुदीमा केन्द्रीय प्रसारण लाइन विस्तारका लागि एक करोड ५० लाख, धवलागिरि गाउँपालिकामा छुट्टै तीन करोड, अन्नपूर्ण गाउँपालिकामा एक करोड छ लाख, बेनी नगरपालिकालाई बीस लाख, मंगला, मालिका र रघुगंगा गाउँपालिकालाई बीस लाख रुपैयाँ विनियोजन भएको छ ।

आगामी दुई तीन वर्षभित्र भौगोलिक रुपमा विकट क्षेत्रमा अवस्थित गुर्जा बाहेक सबै वस्तीमा केन्द्रीय प्रसारण लाइन विस्तार गर्ने लक्ष्यसहित योजना अघि बढाइएको सांसद थापाले बताए । नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्र र प्राधिकरणको केन्द्रीय कार्यालयबाट योजना कार्यान्वयन हुने जनाइएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले प्राधिकरणका योजनाहरु केन्द्रीय निकायबाट कार्यान्वयन हुँदा अपारदर्शी र दोहोरिने समस्या देखिएकाले स्थानीय तहसँग समन्वय गरी जिल्ला स्तरबाट कार्यान्वयन गर्नुपर्ने बताए । “सामान खरिददेखि ठेक्काका सबै काम काठमाडौंबाट हँुदा ढिलासुस्ती, डुब्लीकेशन र अपारदर्शी भएको छ,” जिसस प्रमुख केसीले भने, “यसलाई सुधार गर्न नीतिगत पहल र कडाइका साथ अनुगमन गर्छौं ।”

केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएपछि उज्यालोका लागि टुकी र सौर्य ऊर्जाको भर पर्नुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ । केन्द्रीय प्रसारण लाइन नपुगेका गाउँका बासिन्दा उज्यालोका लागि लघुजलविद्युत् परियोजना, सौर्य ऊर्जा र टुकीमा निर्भर छन् ।

ग्रामीण क्षेत्रमा उद्यमको विकास हुने, सूचना प्रविधिमा पहुँच बढ्ने, दैनिकी र जनजीवन सहज हुने, व्यय र श्रमको भार घट्ने र वन संरक्षणमा सहयोग पुग्ने जनाइएको छ । सरकारी कार्यालयको सेवा प्रवाह, शैक्षिक र स्वास्थ्य सेवाको गुणस्तर सुधारमा सहयोग पुग्ने धवलागिरि गाउँपालिका ७ धारापानीका रिम प्रकाश थापाले बताए ।

नेपाल विद्युत् प्राधिकरणको बेनी वितरण केन्द्रमार्फत म्याग्दी र पर्वतको जलजला गाउँपालिकामा २०७५ असार मसान्तसम्म १५ हजार ८०० घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा पुगेको छ ।

पिक आवरमा चार मेगावाट विद्युत् खपत हुन्छ । धवलागिरि, मालिका, मंगला र रघुगंगा गाउँपालिकामा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तारको क्रममा रहेको प्राधिकरणको बेनी शाखाका प्रमुख नेत्रमणि न्यौपानेले बताए ।

धवलागिरि गाउँपालिकामा गत भदौमा पहिलो पटक धारापानीका दुई सय घरमा विद्युत् सुविधा पुगेको छ । मालिकाको देविस्थान, ओखरबोट, रुम, निस्कोट, बिम, दिच्याम, दुखमा विद्युतीकरण विस्तारको क्रममा छ । मंगलाको अर्मन, हिदीमा विद्युतीकरण हुन बाँकी छ । रघुगंगाको दर्मीजा, चिमखोला, कुइनेमंगलेमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा पुगेको छैन ।

अन्नपूर्ण गाउँपालिका र बेनी नगरपालिकाको अधिकाँश ठाउँमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा पुगे पनि जीर्ण अवस्थामा रहेका काठे खम्बा परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको प्राधिकरणका प्रमुख न्यौपानेले बताए । उनका अनुसार म्याग्दीमा दुई हजार ५०० काठका खम्बा छन् । विद्युतीय दुर्घटनाको जोखिममा रहेका काठका खम्बा विस्थापित गरी फलामका खम्बा परिवर्तन गर्न प्राथमिकता दिइएको न्यौपानेले बताए ।

प्रसारण लाइन विस्तारसँगै ट्रान्सफर्मरको क्षमता वृद्धि र प्रसारण तथा वितरण लाइनको सुधारको आवश्यकता देखिएको छ । मिलनचोक सबस्टेशनमा गत जेठमा ६÷८ केभी क्षमताको पावर ट्रान्सफर्मर जडान भएपछि माग धान्न नसकेर गरिँदै आइएको आन्तरिक विद्युत् कटौतीको समस्या हटेको छ ।

बागलुङ, पर्वत क्षेत्रमा केन्द्रीय प्रसारण लाइनमा समस्या आउँदा र मर्मत गर्दा म्याग्दीमा विद्युत् कटौती हुने समस्याको समाधानलाई पनि प्राथमिकता दिनुपर्ने म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष उत्तम कर्माचार्यले बताए ।
रासस

प्रकाशित मिति : ११ आश्विन २०७५, बिहिबार ००:००