१६ मंसिर २०८२, सोमबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रघुगङ्गाका बाढीपहिरो पीडितलाई राहत वितरण



असोज ६, म्याग्दी । नदी कटान र पहिरोका कारण प्रभावित म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलका बासिन्दालाई जिल्ला विपद् व्यवस्थापन समितिले राहत वितरण गरेको छ । बाढी पहिरोका कारण आफन्त र घरबास गुमाएका पीडितलाई शुक्रबार १ लाख ८६ हजार नगद राहत वितरण गरिएको हो ।

पहिरोले विद्युत्को पोल ढलाएपछि लत्रिएको तारले करेन्ट लागेर ज्यान गुमाएकी दुवाडीकी मनमाया छन्त्यालका आफन्तलाई रु एक लाख, रघुगङ्गा नदीमा आएको बाढीले कटान गरेर घर बगाएका खरिबोटका चन्द्रबहादुर छन्त्याललाई रु ५० हजार र आंशिक क्षति भएका यामबहादुर छन्त्याललाई रु २० हजार उपलब्ध गराइएको थियो ।

विस्थापित र आंशिक क्षति पुगेका बाढीपहिरो पीडित आठ घरपरिवारलाई गण्डकी प्रदेशका सांसद विनोद केसीले व्यक्तिगतरुपमा ८ परिवारलाई २ हजार रुपैयाँका दरले थप राहत प्रदान गरेका थिए ।

सांसद केसी, जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी, नेपाली काङ्ग्रेसका जिल्ला सचिव मीनबहादुर कार्की, वडाध्यक्ष गमान छन्त्याल, जिल्ला शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख दलबहादुर थापा, प्राविधिक राजकुमार शाहीलयायतको टोलीले बाढी, कटान र पहिरो प्रभापवित क्षेत्रको स्थलगत अनुगमन गरी क्षति र थप जोखिमको अवस्थाबारे जानकारी लिएका थिए ।

गत भदौ २७ गते रघुगङ्गा नदीमा आएको बाढीले दुलेखर्कस्थित रितुङ माविको तीनवटा भवनको सात वटा कक्षा कोठा र चार कोठे शौचालय बगाएको थियो ।

पहिरोले विभिन्न ठाउँमा पैदलमार्ग बगाएको, बाँकी भवन पनि कटानको जोखिममा रहेकाले रितुङ माविको पठनपाठन ठप्प बनेको छ । कक्षा १० सम्मको पठनपाठन हुने उक्त विद्यालयमा १ सय ७५ जना विद्यार्थी अध्ययनरत छन् ।

समुदायलाई अस्थायी पूर्वाधार तयार पारेर पठनपाठनलाई निरन्तरता दिन आग्रह गरेको सो टोलीले जग्गा खोजेर नयाँ भवन निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाएका थिए । रासस

प्रकाशित मिति : ६ आश्विन २०७५, शनिबार ००:००