१९ कार्तिक २०८३, बुधबार | Wed Nov 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भक्तपुरका बालुवा खानी पुनः सञ्चालनमा आउने

लेखक स्थानीय खबर २ आश्विन २०७५, मंगलबार २ मिनेट पढाइ

 

असोज २, भक्तपुर । भक्तपुरका बालुवा तथा माटो खानी पुनः सञ्चालनमा आउने भएका छन् । खानी सञ्चालनमा अनियमितता भएको भन्दै उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार वर्षअघि खानीसम्बन्धी सबै फाइल नियन्त्रणमा लिएपछि बन्द भएका खानी पुनःसञ्चालनमा आउन लागेका हुन् ।

चाँगुनारायण नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै खानी सञ्चालकलाई आवश्यक कागजपत्र नगरपालिकामा बुझाउन आह्वान समेत गरिसकेको छ । भक्तपुरका बालुवा खानी तत्कालीन जिल्ला विकास समितिको प्रमुख आयस्रोतमध्येको एक थियो ।

खानी सञ्चालकले नै अनियमितताको उजुरी गरेपछि अख्तियारले खानीसम्बन्धी फाइल नियन्त्रणमा लिएको थियो । तर अख्तियारले सो सम्बन्धमा छानबिन नै नगरी अहिले ती फाइल जिल्ला समन्वय समितिलाई फिर्ता गरेपछि खानी खुल्ने वातावरण तयार भएको हो ।

जिल्लामा २६ माटो तथा बालुवा खानी रहेको बताइएको छ । तत्कालीन जिल्ला विकास समिति र खानी तथा भूगर्भ विभागमा दर्ता भएका ती खानी हाल चाँगुनारायण नगरपालिकाभित्र रहेका छन् ।

नगरपालिकाले दशैँ तिहारलगत्तै खानी सञ्चालनको तयारी गरेको चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए । उनले त्यसका लागि खानी सञ्चालन कार्यविधिसमेत तयार गरिसकेको बताए । उनले खानीमा लगाइने करसमेत नगरसभाले पारित गरिसकेको जानकारी दिए ।

खानी सञ्चालनको स्वीकृति दिनुअघि नगरपालिकाले खानी सञ्चालकले बुझाएको कागजपत्र र खानीको स्थलगत अध्ययन गरिने र ती स्थानमा स्रोतको समेत पहिचान गरी खानी सञ्चालनको स्वीकृति दिइने उनले बताए । उनले खानी क्षेत्रको भौगोलिक अवस्था र जनस्वास्थ्यमा पार्न सक्ने प्रतिकूल असरका बारेमा समेत अध्ययन गरिने बताए ।
रासस

प्रकाशित मिति : २ आश्विन २०७५, मंगलबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।