२ पुस २०८२, बुधबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय तहले रिक्त जनप्रतिनिधिको विवरण अझै पठाएनन्



 

असोज १, काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त रहेको स्थानीय तहको जनप्रतिनिधिको निर्वाचनका लागि माग गरिएको विवरण स्थानीय तहहरूले अझै पठाइएका छैनन् ।

मन्त्रालयले एक महिनाअघि नै सबै स्थानीय तहलाई रिक्त रहेको विवरण पठाउन भने पनि अहिलेसम्म १५ जिल्लाले मात्र सो सम्बन्धी विवरण पठाएको सङ्घीय महाशाखाका शाखा अधिकृत खेमराज जोशीले जानकारी दिए ।

मन्त्रालयले एक हप्ताभित्र रिक्त जनप्रतिनिधिको विवरण उपलब्ध गराउने भने पनि अझै नपठाएको उनले बताए । ‘‘हामीले रिक्त रहेका जनप्रतिनिधिको विवरण जिल्ला समन्वय समितिको कार्यालयमार्फत माग गरेका थियौं,’’ उनले भने, “तर अहिलेसम्म १५ जिल्लाबाट मात्र प्राप्त भएको छ ।’’

उहाँका अनुसार मोरङ, अछाम, सिन्धुपाञ्चोक, काठमाडौैँ, धनकुटा, डोटी, सिराहा, पर्सा, अर्घाखाँची, लमजुङ, मनाङ, सङ्खुवासभा, सिन्धुली, जाजरकोट र धादिङ जिल्लाका ९६ स्थानीय तहका १ सय १२ जना जनप्रतिनिधिको पद रिक्त रहेका छन् । तीमध्ये धेरैजसो जिल्ला समन्वय समितिमा निर्वाचित भएर रिक्त रहेको शाखा अधिकृत जोशीले बताए ।

मृत्यु भएर पनि केहि जनप्रतिनिधिको पद रिक्त भएका छन् । उनले रिक्त जनप्रतिनिधिमध्ये उपमहानगर, नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षसहित वडाध्यक्ष मात्र निर्वाचन हुने बताए ।

वडा सदस्यको हकमा भने निर्वाचन नहुने भएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता महेन्द्रनाथ भट्टराईले मन्त्रालयले रिक्त रहेको विवरण पठाए र सरकारले निर्वाचन घोषणा गरेपछि उपनिर्वाचन गर्न तयार रहेको बताए ।

‘‘हामीसँग निर्वाचनका सबै सामग्री तयारी अवस्थामा छन्’’ भट्टराईले भने, ‘‘सरकारले घोषणा गर्नासाथ उपनिर्वाचन गर्न तयार छौ ।’’ रासस

प्रकाशित मिति : १ आश्विन २०७५, सोमबार ००:००