भदौ १०, महेन्द्रनगर धनुषा । धनुषाको मिथिला नगरपालिकाले आफ्नो नगरभित्र विद्यालय जाने उमेर समूहका बालबालिका विद्यालय बाहिर नरहेको घोषणा गरेको छ ।
३९ औँ अन्तर्राष्ट्रिय साक्षरता एवं बाल दिवसको अवसरमा शुक्रबार ढल्केवरमा घोषणासभा आयोजना गरेर नगरपालिकाका प्रमुख हरिनारायण महतोले उक्त घोषणा गरेका हुन् ।
महतोले सरकारले शुरु गरेको बालबालिका विद्यालय भर्ना अभियानलाई मिथिला नगरपालिकाले प्रदेश नं २ मै पहिलो पटक सम्पन्न गरेको दाबीसमेत गरे ।
केही वर्षभित्रै पूर्णरूपले साक्षर बनाउने घोषणा गर्दै महतोले नगरपालिकाभित्र निरक्षर उन्मूलन गर्नकै लागि शिक्षालाई नगरपालिकाले प्राथमिकतामा राखेको बताए ।
उक्त कार्यक्रममा उपस्थित नगरप्रमुख, उपप्रमुख, ११ वटै वडाका वडाध्यक्ष, नगरपालिकाभित्र रहेका सबै विद्यालयका प्रधानाध्यापक, अभिभावक र विद्यालय सञ्चालक समितिका पदाधिकारी सहभागी थिए । सबैले हातेमालो गर्दै केही वर्षमै मिथिला नगरपालिकालाई पूर्णरूपले साक्षर बनाउने प्रतिबद्धतासमेत गरिएको थियो ।
छोरीलाई पढ्न प्रेरित गर्नका लागि मिथिला नगरपालिकाले ‘मिथिलाको चाहना, घरघरमा साहना’ कार्यक्रम सञ्चालन गरिरहेको बताउँदै उपप्रमुख तारा बस्नेत लामाले नगरपालिकालाई साक्षर बनाउनको लागि उक्त अभियानलाई निरन्तरता दिने बताइन् । रासस




प्रतिक्रिया