भदौ २९, दुल्लु । राउटे समुदाय बसोबास गर्दै आएको बस्तीमा पहिलो पटक बाल दिवस मनाइएको छ । दैलेखको गुराँस गाउँपालिका–८ को पाखापानीमा बसोबास गर्दै आएका राउटे समुदायको बस्तीमै पुगेर पहिलो पटक बाल दिवस मनाइएको हो ।
जिल्ला बालकल्याण समिति दैलेख, गुराँस गाउँपालिका र सामाजिक सेवाकेन्द्र (सोसेक) नेपाल दैलेखको संयुक्त प्रयासमा राउटे बालबालिकाले पहिलो पटक बालदिवस मनाएका हुन् ।
बाल दिवसका अवसरमा आयोजित कार्यक्रममा जिल्ला बालकल्याण समिति दैलेखका अध्यक्ष तथा दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले राउटे बालबालिका र उनीहरूका अभिभावकलाई कपडा वितरण गरेका छन् ।
सोसेकले उपलब्ध गराएको लगाउने कपडा तथा ओछ्याउने म्याट समुदायका ३९ बालक र ३० बालिका गरी ६९ बालबालिकालाई वितरण गरिएको छ । यस्तै ३७ जना महिलालाई पनि कपडा वितरण गरिएको छ ।
सोही अवसरमा गुराँस गाउँपालिकाले राउटे समुदायका १ सय ५१ जनालाई प्रतिव्यक्ति २ हजार रुपैयाँका दरले भदौको सामाजिक सुरक्षाभत्ता वितरण गरिएको छ । गाउँपालिका अध्यक्ष खेमराज ओलीले सामाजिक सुरक्षाभत्ता वितरण गरेका छन् । रासस




प्रतिक्रिया