पुरुषोत्तम सुवेदी
भदौ २८, नवलपरासी ।
पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकामा नगर प्रमुख र उपप्रमुखबीच देखिएको विवादले उग्र रूप लिएपछि छानविन समिति गठन गरिएको छ ।
उपप्रमुख विष्णुकुमारी कँडेलले आर्थिक पारदर्शीको माग राख्दै कार्यालयमा गरेकोे तालाबन्दी र नगर प्रमुख छत्रराज पौडेलले उपप्रमुखले नियमविपरीत कार्यालयमा तालाबन्दी गरेको आरोप लगाएपछि दुबैपक्ष बिचको विवाद चुलिएको थियो ।
आर्थिक पारदर्शीता र सुशासनको माग गर्दै गैँडाकोट नगरपालिकाको कार्यालयमा मङ्गलबार उपप्रमुख कँडेलसहित केही कार्यपालिका सदस्यले लगाएको ताला बुधबार प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालको संयोजकत्वमा भएको नगर प्रमुख पौडेल, उपप्रमुख कँडेल सहितको छलफलपछि खोलिएको थियो ।
आर्थिक वर्ष २०७४/७५ को अषाढ महिनाको हिसाबकिताब हेर्न पाउने सहमति बनेपछि ताला खोलिएको गैँडाकोट नगरपालिकाका उपप्रमुख विष्णुकुमारी कँडेलले बताइन् । हिसाबकिताब जाँचबुझका लागि प्रमुख कोष नियन्त्रक महेशशरण भण्डारीको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको छ ।
पटकपटक नगरकार्यपालिकाको बैठकमा आर्थिक पारदर्शिताका लागि माग गर्दा पनि सुनुवाइ नभएको हुँदा नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्न बाध्य भएको उपप्रमुख कँडेलको भनाइ थियो भने नगर प्रमुख पौडेलले उपप्रमुखले नियमभन्दा बाहिर रहेर आरोप लगाएको र आर्थिक पारदर्शीता रहेको दाबी गरेका थिए ।
उक्त नगरपालिकाबाट भएका विकास निर्माण लगायतका खर्चको हिसाबकिताब जिम्मेवार जनप्रतिनिधिलाई जान्नबाट बञ्चित गराएको आरोपमा उपप्रमुख लगायत बहुमत सदस्यले मङ्गलबार तालाबन्दी गरेका थिए ।
रासस






प्रतिक्रिया