४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दक्ष जनशक्तिका लागि लगानी गर्दै रुकुमका स्थानीय तह



 

रमेश लम्साल
भदौ २६, काठमाडौं ।

निर्वाचनको समयमा उम्मेदवारले पूरा हुने तथा नहुने विभिन्न आश्वासन बाँड्दै हिँडेको विषयलाई धेरैले नौलो मान्दैनन् । आश्वासनका रूपमा अगाडि सारिएका नारा र विषयमध्ये थोरै मात्रै पूरा हुने गरेको छ ।

स्थानीय तहको निर्वाचनमा धेरैजसो उम्मेदवारले स्मार्ट सिटीको नारा अगाडि सारे । गर्न सकिने र नसकिने नारा दिने उम्मेदवार कोही विजयी भए भने कोही पराजित भए । बुझ्दै नबुझी नारा र आश्वासन दिने धेरैजसो उम्मेदवार आगामी निर्वाचनमा देखिएलान् वा नदेखिएलान् त्यसको कुनै निश्चित छैन ।

आश्वासन बाँडेकै भरमा निर्वाचन जितेका जनप्रतिनिधिले आफ्ना प्रतिबद्धता के कति पूरा गरे भन्ने खोजी शुरु भएको छ । स्थानीय तहको गत निर्वाचनमा जनतासमक्ष गरेको प्रतिबद्धता पूरा गर्नेमा रुकुमको आठबिसकोट नगरपालिका देखिएको छ । शिक्षा, स्वास्थ्यमा लगानी गर्ने र आर्थिक समृद्धिको जग बसाउने लक्ष्यका साथ सो नगरपालिकाले अभियान नै चलाएको छ ।

नेपाल कम्युनिस्ट पार्टी नेकपा का स्थायी समिति सदस्य एवं पूर्वमन्त्री जनार्दन शर्माको संयोजनमा आठबिसकोट नगरपालिकाले स्थानीय दुई विद्यार्थीलाई विमान चालक पढाइका लागि फिलिपिन्स पठाएको छ । रुकुमको आठबिसकोट नगरपालिका ५ का ललित भण्डारी र सोही नगरपालिका १० का गोविन्द केसी विमान चालक पढाइका लागि सोमबार साँझ फिलिपिन्स उडे ।

नगरपालिकाले दुई विद्यार्थीका लागि ५० ५० लाख रकम उपलब्ध गराएको छ । शैक्षिक कर्जा भने उनीहरूले विस्तारै तिर्ने गरी व्यवस्था मिलाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज चढ्ने प्रतीक्षामा रहेका बेला कुरा गर्दै भण्डारीले आफ्नो पाइलट बन्ने सपना पूरा गर्न नेकपाका नेता जनार्दन शर्मा र नगरपालिकाका प्रमुख गोरखबहादुर केसीले खेलेको भूमिकाको उच्च प्रसंशा गरे ।

“सानैदेखिको पाइलट बन्ने रुचि थियो, विदेश गएर पढ्नुपर्ने विमान चालक पढाइको पाड्यक्रमका लागि पैसा थिएन । तर नगरपालिकाले विश्वास गरेर हामीलाई पैसा दियो” भण्डारीले भने, “सामाजवादको आधार तयार पार्ने र गाउँमै दक्ष जनशक्ति उत्पादन गर्ने भनेर निर्वाचनका क्रममा नेता शर्माले व्यक्त गर्नुभएको प्रतिबद्धता पूरा गर्नुभएको छ ।”

विमान चालक पढाइका लागि अध्ययन गर्न गएका अर्का विद्यार्थी केसीले पनि निर्वाचनमा राजनीतिक नेतृत्वले प्रतिवद्धता मात्रै जनाउँदैनन् त्यसलाई पूरा गर्छन् भन्ने कुरा व्यवहारिक रुपमा पुष्टि भएको बताए । “जुन विश्वासका साथ हामीलाई राजनीतिक नेतृत्वले लगानी गरेको छ, त्यसलाई म दृढताका साथ पूरा गर्नेछु । आर्थिक रूपमा विपन्न परिवारको चाहना पूरा भएको छ” केसीले भने ।

उनीहरू मात्र होइन, नगरपालिकाले चिकित्सक, इञ्जिनीयर पढ्न चाहने विद्यार्थीका लागि समेत आवेदन माग गरेको छ । नगरपालिकाले यसअघि पाँच जनालाई नर्स र ओभरसियर अध्ययनको व्यवस्था मिलाइसकेको छ । दक्ष र प्राविधिक जनशक्ति उत्पादन गर्ने भनेर निर्वाचनका क्रममा गरिएको प्रतिबद्धताअनुसार नै शैक्षिक कर्जा दिन थालिएको नगर प्रमुख गोरखबहादुर केसी बताउछन् ।

शैक्षिक कर्जा लिनका लागि आवश्यक धितो र त्यसका लागि आवश्यक शैक्षिक योग्यता भएको कागजात पेश गर्नुपर्ने नियम बनाइएको छ । आठबिसकोट बचत तथा ऋण सहकारी संस्थाबाट शैक्षिक कर्जा लिने व्यवस्था नगरपालिकाले गरिदिएको छ । सहकारीबाट लिइएको ऋणको ब्याज नगरपालिकाले तिर्ने व्यवस्था गरिएको छ ।

रुकुमको स्थायी बासिन्दा नेकपाका नेता शर्माले दक्ष र योग्य जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ आफूहरूले योग्य विद्यार्थीलाई अध्ययनका लागि विदेश पठाएको बताउछन् । आर्थिक समृद्धिका लागि दक्ष जनशक्ति जरुरी रहेको भन्दै उनले रुकुममा हरेक स्थानीय तहले स्वास्थ्य र शिक्षामा लगानी गरेको र त्यसको प्रतिफल आगामी केही वर्षदेखि देखिने बताए ।

स्थानीय तहले शैक्षिक कर्जा लिएर अध्ययन गरेका विद्यार्थीले रोजगारी पाएपछि मात्रै कर्जाको सावाँ र ब्याज तिर्ने व्यवस्था मिलाएको छ । नेता शर्माले भने, “हामीले निर्वाचनका क्रममा जनतासामु गरेको प्रतिबद्धतालाई व्यावहारिक रूपमा नै कार्यान्वयन थालेका छौँ । यसलाई अरु जिल्लाले समेत अनुशरण गर्न सक्छन् ।”

पछिल्लो व्यवस्थाअनुसार पश्चिम रुकुमको रूपमा परिचित सो जिल्लामा तीन नगरपालिका र तीन गाउँपालिका रहेका छन् । गत स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रले एकलौटी रूपमा सो जिल्लाको सबै स्थानीय तहमा विजय हासिल गरेको थियो ।

विमान चालक तथा चिकित्सक अध्ययन गर्न चाहने योग्य विद्यार्थीलाई नगरपालिकाको सिफारिशमा सहकारीले ५० लाखसम्म ऋण दिने व्यवस्था गरिएको छ । राज्यले विगतमा शैक्षिक क्षेत्रमा ठूलो लगानी गरेको भए पनि ग्रामीण क्षेत्रका विद्यार्थीले त्यसबाट फाइदा लिन सकेका थिएनन् । नगरपालिकाका प्रमुख केसीले दक्ष जनशक्ति उत्पादन गर्ने र स्थानीय तहबाटै आर्थिक समृद्धिसहितको समाजवादको यात्रा तय गर्ने लक्ष्यका साथ शिक्षा र स्वास्थ्यमा लगानी बढाइएको बताए ।

स्रोतको अभावमा क्षमता भएका विद्यार्थीले समेत प्राविधिक विषयमा अध्ययन गर्न नपाएकाले खाडी मुलुकमा रोजगारीको खोजीमा जानुपर्ने बाध्यताको अन्त्य गर्न खोजिएको नगरपालिकको भनाइ छ । प्रमुख केसी स्वदेश वा विदेश जहाँ भए पनि एक एक जनालाई त्यस्तो सुविधा वार्षिक रूपमा उपलब्ध गराउने बताए ।

नेकपाका नेता शर्माले नारा र भाषणको भरमा मात्रै समृद्धिको यात्रा तय हुन नसक्ने भएकाले व्यावहारिक रूपमा नै प्रयास गरिएको जानकारी दिए । विमान चालक पढाइका लागि गएका केसी र भण्डारीले पनि स्थानीय सरकार र राजनीतिक नेतृत्वले गरेको विश्वासलाई साकार बनाउने र जिल्लाको नाम राख्ने प्रतिबद्धता व्यक्त गरे ।

जहाज चढ्न हतारमा रहेका भण्डारीले त आर्थिक पहुँचभन्दा बाहिर रहेको विमान चालकसम्बन्धी अध्ययन गर्ने सपना पूरा भएकामा पटक–पटक नेता शर्मा र नगरप्रमुख केसीलाई धन्यवाद दिए ।

रुकुमको स्थानीय तहले शुरु गरेको यस्ता सकारात्मक प्रयासलाई अन्य जिल्लाका स्थानीय तहले पनि अनुशरण गर्न सक्ने र आफूहरू जस्तै प्राविधिक शिक्षा अध्ययन गर्न चाहनेलाई सहयोग गर्न आग्रह गर्छन् विद्यार्थी केसी ।

त्रिचन्द्र कलेजबाट बिएस्सी गरेका केसी र भण्डारीले फिलिपिन्सबाट अध्ययन सकेर देश र जिल्लाको सेवा गर्ने प्रतिबद्धता मात्रै व्यक्त गरेनन् अरु जिल्लालाई पनि यस्तो अभियान शुरु गर्न अनुरोध गरे ।
रासस

प्रकाशित मिति : २६ भाद्र २०७५, मंगलबार ००:००