५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बेनी–जोमसोम सडकको म्याग्दीखण्डमा तीन वटा मोटरेबल पुलनिर्माण शुरु



 

भदौ २४, म्याग्दी । बेनी–जोमसोम सडकको म्याग्दीखण्डमा तीन वटा मोटरेबल पुलनिर्माण शुरु भएको छ । बेनीनगरपालिका ९ र रघुगङ्गा ३ को सिमानामा रहेको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका १ र ७ को सिमाना महभिर तथा अन्नपूर्ण गाउँपालिका २ र ६ को सिमाना पोखरेबगरस्थित कालीगण्डकी नदीमाथि पक्की मोटरेबल पुलनिर्माण शुरु भएको हो ।

भौतिक योजना तथा यातायात मन्त्रालय अन्तर्गतको पुल महाशाखा पश्चिम सेक्टरले महभिर र पोखरेबगर तथा बेनी–जोमसोम–कोरला सडक आयोजनाले रघुगङ्गामा मोटरेबल पुलनिर्माणको काम शुरु गरेका छन् । पुलनिर्माण भएपछि अन्तरदेशिय व्यापारिक महत्वको बेनी–जोमसोम–जोमसोम कोरला सडकमा सवारी आवतजावत सहज हुने अपेक्षा गरिएको छ ।

पोखरेबगर र महभिरस्थित कालीगण्डकीमा दुई वटा मोटरेबल पुलनिर्माणका लागि १९ करोडमा ठेक्का सम्झौता गरेको हिम सगरमाथा–डाँफे–बज्रगुरी जेभीले बर्खाको प्रतिकूल मौसमको बाबजुत पनि कामलाई तीव्ररुपमा अघि बढाएको कार्यालयका सब इञ्जिनीयर टीका रेग्मीले जानकारी दिए ।

दुई वटै पुलनिर्माणका लागि ठेकेदार आफैँले डिजाईन र निर्माण गर्ने सम्झौता भएको छ । ११ मिटर फराकिलो पुल दुई लेनको हुने सब इञ्जिनीयर रेग्मीले बताए । ८० मिटर लामो महभिर पुलको बीच र तिप्ल्याङतर्फ रहने पिल्लर निर्माणको काम आधाभन्दा बढी सकिएको छ ।

७० मिटर लामो पोखरेबगरको मोटरेबल पुलको घारतर्फको पिल्लरको जग खनेर ढलानको काम तीव्ररुपमा अघि बढाइएको निर्माण कम्पनीका प्रतिनिधि उमेश गड्तौलाले बताए । दुई वर्षमा काम सक्ने लक्ष्य राखिएको छ ।

रघुगङ्गामा ४० मिटर लम्बाइ र ११ मिटर चौडाइ भएको ओपन फाउण्डेशन प्रिस्टेस्ड प्रविधिको पक्की पुल निर्माणका लागि लीका गजुरमुखी जेभीले छ कारेड २४ लाख तीन हजार ८२५ मा ठेक्का लिएको छ । विसं २०७६ चैत मा सम्पन्न गर्ने लक्ष्य राखिएको पुलनिर्माणका लागि प्रारम्भिक चरणको काम शुरु भएको बेनी जोमसोम कोरला सडक आयोजनाका इञ्जिनीयर जगत प्रजापतीले बताए ।

विसं २०६४ मा ट्याकखुलेको बेनीजोमसोम सडकको विभिन्न ठाउँमा हाल फलामको बेलीब्रिजबाट सवारीसाधन वारपार गर्दै आएका छन् । भारत र चीन जोड्ने सबैभन्दा छोटो (४३५ किलोमिटर) दूरीको कालीगण्डकी कोरिडोरअन्तर्गत म्याग्दीको बेनीदेखि चीनको सिमाना कोरला जोड्ने १८६ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक कालोपत्रे र स्तरोन्नतिको काम भइरहेको छ । आयोजनाले रुप्से खोलामा पनि मोटरेबल पुलनिर्माणको प्रक्रिया अघि बढाएको छ ।
रासस

प्रकाशित मिति : २४ भाद्र २०७५, आइतबार ००:००