२९ मंसिर २०८२, आइतबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तमानखोला गाउँपालिकामा बालविवाह बदर गर्ने अभियान शुरु



 

रामबहादुर थापा
भदौ २०, बागलुङ ।

कानूनले तोकेको उमेर नपुग्दै भएको बालविवाहलाई तमानखोला गाउँपालिकाले बदर गरेको छ । गाउँपालिकाले गत वैशाखदेखि नै बालविवाह विरुद्धको अभियान थालेको हो । अभियान अन्तर्गत खुङ्खानी, बोङ्खानी, हिले, खोलेसवाङ र पहिरा गाउँमा भएका १० वटा बालविवाहलाई गाउँपालिकाले बदर गरेका हुन् ।

“सकभर हुनै दिन्नौँ, भइहाले बदर गर्छौं” गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले भने । गाउँपालिकाको न्यायिक समितिमार्फत दुवै पक्षको समझदारी जुटाएर विवाह बदर गर्ने गरिएको छ । परामर्श, छलफल र सचेतनापछि विवाह तोड्न केटाकेटी पनि राजी हुन थालेका छन् । गाउँपालिकाले टोल, बस्तीमा पुगेर बालविवाह विरुद्धका वृत्तचित्र, नाटकसमेत प्रदर्शन गर्ने गरेको छ ।

घरघरमै पुगेर अभिभावक र बालबालिकालाई सँगै राखेर परामर्श दिने गरिएको छ । सचेतना बढाउँदा बालविवाह रोक्न सहज भएको अध्यक्ष बुढाले बताए । गाउँपालिकाले १६ देखि १९ वर्ष उमेर समूहभित्र भएका बालविवाहलाई बदर गरेको हो । बीस वर्षभन्दा कम उमेरमा हुने विवाहलाई कानूनले बालविवाह भनिएको छ ।

तमानखोला गाउँपालिकाका अधिकांश वडामा बालविवाह सामाजिक समस्याका रुपमा छ । कम उमेरमै भागेर विवाह गर्ने पुरानो प्रवृत्ति अहिले पनि रहेको गाउँपालिका उपाध्यक्ष एवं न्यायिक समितिकी संयोजक मानसरी शेरचनले बताइन् ।

गाउँपालिकाले गत वर्ष बनाएको बालविवाहसम्बन्धी वृत्तचित्रले पनि गाउँमा सचेतना बढाउन ठूलो सघाउ पु¥याएको छ । वृत्तचित्रमा बालविवाहबाट समस्या झेलेका व्यक्तिका कथा र त्यसले समाजमा पार्ने असरलाई जीवन्त ढङ्गले उठान गरिएको छ । बालविवाह गरी छुट्टिन नमान्ने जोडीलाई अधिकारकर्मी र स्वास्थ्यकर्मीले परामर्शसमेत दिने गरेका छन् ।

व्यक्तिगत, पारिवारिक, सामाजिक जीवन र स्वास्थ्यमा पुग्ने असरका बारेमा सचेत पारेपछि बालविवाह बदर गर्न अभिभावक र बालबालिका सहमत बन्न थालेका हुन् ।

विद्यालय उमेरका किशोर किशोरीले प्रदर्शन गर्ने बालविवाह सम्बन्धी सचेतनामूलक नाटकले पनि बालविवाह न्यूनीकरणमा ठूलो टेवा पुगेको बताइएको छ । गरिबी, बेरोजगारी, अशिक्षा, सचेतना अभावजस्ता कारणले जिल्लाका दुर्गम गाउँमा बालविवाह हुने दर बढी छ ।
रासस

प्रकाशित मिति : २० भाद्र २०७५, बुधबार ००:००