६ पुस २०८२, आइतबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नगरपालिका सङ्घमा ब्याञ्जु



 

भदौ १५, काठमाडौं । काठमाडौंमा सम्पन्न नगरपालिका सङ्घको छैटौँ राष्ट्रिय सम्मेलनले धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुको अध्यक्षतामा ४९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

यही भदौ १२ देखि १४ गतेसम्म भएको सम्मेलनले सर्वसम्मत रुपमा ब्याञ्जुको नेतृत्वमा नयाँ नेतृत्व चयन गरेको सङ्घका कार्यालय सचिव कलानिधि देवकोटाले जानकारी गराए ।

सङ्घका उपाध्यक्षमा बेलकोट नगरपालिकाका उपप्रमुख कबिता ढुङ्गाना, महासचिवमा, नीलकण्ठ नगरपालिकाका प्रमुख भीम ढुङ्गाना, उपमहासचिवमा जनकपुर उपमहानगर प्रमुख लालकिशोर साह, कोषाध्यक्षमा तुलसीपुर उपमहानगरका दाङका प्रमुख घनश्याम पाण्डे र सहकोषाध्यक्षमा काठमाडौं महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी निर्वाचित भएका छन् ।

सम्मेलनले सातै प्रदेशमा प्रदेश संयोजकसमेत तोकेको छ । प्रदेश नं १ मा इलाम नगरपालिका प्रमुख महेश बस्नेत, प्रदेश नं २ मा परोहा नगरपालिका रौतहटका प्रमुख शेख वकिल, प्रदेश नं ३ मा भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसी, गण्डकी प्रदेशमा पालुङटार नगरपालिकाका प्रमुख दीपकबाबु कँडेल, प्रदेश नं ५ मा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराजा सुवेदी, कर्णाली प्रदेशमा नारायण नगरपालिका दैलेखका प्रमुख रत्नबहादुर खड्का र प्रदेश नं ७ मा पाटन नगरपालिका दैलेखका प्रमुख केशरबहादुर चन्द रहेका छन् ।

सम्मेलनले राप्ती नगरपालिका चितवनका प्रमुख प्रभा बरालको संयोजकत्वमा १४ सदस्यीय महिला विभाग गठन गरेको छ । सम्मेलनमा ६ महानगर, ११ उपमहानगर र २७६ नगरपालिकाका प्रमुख र उपप्रमुख गरी ५४६ जनाको सहभागिता थियो । यसअघि सङ्घको अध्यक्षमा प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल छन् ।
रासस

प्रकाशित मिति : १५ भाद्र २०७५, शुक्रबार ००:००