५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खानेपानी आयोजनाले फेरियो दैनिकी



 

भदौ १२, वालिङ । एक गाग्री खानेपानीका लागि घण्टौँ बिताउने गरेका कालीगण्डकी गाउँपालिकाका बासिन्दाले लिफ्टिङ खानेपानी योजनाबाट घरमै पानी आएपछि निकै सहज भएको अनुभव गरेका छन् । उक्त समयलाई उनीहरुले अन्य आयआर्जनका कार्यमा लगाउन थालेका छन् ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा सञ्चालनमा रहेको ढुसखोला डुमही लिफ्टिङ खानेपानी आयोजनाले स्थानीयवासीको दैनिकी फेरिएको हो । कालीगण्डकी गाउँपालिका वडा नं १, २ र ३ का २२५ घरधुरी सर्वसाधारण प्रत्यक्ष लाभान्वित भएका हुन् ।

“गाउँभन्दा धेरै तल रहेका पानीका मुहानमा दैनिक एक घण्टादेखि डेढ घण्टा समय खर्चेर एक गाग्री पानी ल्याउनुपर्ने बाध्यता थियो” स्थानीय उपभोक्ता छविलाल गाहाले भने, “पानीको समस्याले पिरोलिएका स्थानीयमा पानी घरघरमै आएपछि अहिले उनीहरुको दैनिकी फेरिएको छ ।” गाउँमाथि रहेको ट्याङ्कीबाट गाउँमा घर, सार्वजनिकस्थल, विभिन्न सङ्घसंस्थालाई गरी ६४ धारामार्फत पानी वितरण गरिएको छ ।

करिब ५८० मिटर ठाडो उचाइमा झण्डै दुई हजार ४०० मिटर टाढाबाट पानी तानेर वितरण गरिएको ढुसखोला डुमही खानेपानी उपभोक्ता समितिका अध्यक्ष खगीसरा आलेले बताइन् । कुल एक करोड ७२ लाख ४८ हजार ३०० को लागतमा उक्त खानेपानी योजना सम्पन्न भएको हो ।

फिनल्याण्ड सरकारको सहयोग तथा स्थानीय निकायको अनुदान र उपभोक्ताको श्रमदानबाट दुई वर्षमा सो आयोजनाको निर्माण सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष आलेले बताइन् ।

कालीगण्डकी गाउँपालिकामा हाल ४८ देखि ३१४ घरका बासिन्दा लाभान्वित हुने गरी १४ वटा लिफ्टिङ खानेपानी योजना सञ्चालनमा रहेको कालीगण्डकी गाउँपालिकाका खानेपानी तथा सरसफाइ (वास) संयोजक भागीरथ अधिकारीले बताए । विद्युत्को महशुल र कर्मचारीका लागि प्रतिघरधुरी मासिक २१० महशूल निर्धारण गरिएको छ ।
रासस

प्रकाशित मिति : १२ भाद्र २०७५, मंगलबार ००:००