२ पुस २०८२, बुधबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मोहन्याल गाउँपालिकाको कार्यालय धनगढीमा, आफ्नै ठाउँमा सेवा नपाउँदा सास्ती



 

सिद्धराज भट्ट
भदौ ८, धनगढी ।

कैलालीको मोहन्याल गाउँपालिका २ को घोडालङ्गे आधारभूत विद्यालयका शिक्षक घनश्याम न्युरेलाई गाउँपालिका कार्यालयबाट सिफारिश लिने कामका लागि धनगढी पुग्नुप¥यो । गाउँपालिका कार्यालय रहेको स्थान धनगढी पुग्नुपर्ने भएपछि उनलाई सिफारिश बनाउने काममा धेरै दिनको समय पनि लाग्यो ।

गाउँपालिकाको कार्यालय शुरुदेखि नै धनगढीको एक निजी घर भाडामा लिई सञ्चालनमा छ । “विद्यालयको शिक्षक दरबन्दी पूर्ति गर्ने प्रक्रिया अघि बढाउन गाउँपालिकाको सिफारिश चाहिने भएपछि धनगढीमा सञ्चालनमा रहेको गाउँपालिकाको कार्यालयमा पुग्नु प¥यो, न्यूरेले भने, “मोहन्यालमा नै कार्यालय भएको भए काम छिट्टै र सहज बन्थ्यो ।”

सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको भनिए पनि अझै यो भनाइ व्यवहारमा देखिन नसक्दा गाउँपालिकाका सेवाग्राहीले सास्ती खेप्नुपरेको गुनासो बढ्न थालेको छ । “सबै नेता अब सिंहदरबारको अधिकार गाउँगाउँमा पुग्यो भन्थे, आफूले समान्य कामका लागि पनि धनगढी आउनुपर्ने बाध्यता अझै हटेको छैन” अर्का सेवाग्राहीले भने ।

नयाँ सङ्घीय संरचनाअनुसार कैलालीमा कायम गरिएका १३ वटा स्थानीय तहमध्ये मोहन्याल गाउँपालिका र चुरे गाउँपालिका चुरे पहाडी क्षेत्रका गाउँपालिका हुन् । पहिलेको तुलनामा स्थानीय तह अधिकार सम्पन्न भए पनि निर्वाचित प्रतिनिधिबाट आफ्नै क्षेत्रमा कार्यालय स्थापना गर्नमा भइरहेको कमी कमजोरीका कारण गाउँमा नै सेवा पाउन नसकिएको गुनासो सेवाग्राहीको छ ।

गाउँपालिकाका अध्यक्ष नवलसिं रावल भौगोलिक विकटताले बाटो, विद्युत्, सञ्चार जस्ता आधारभूत सेवा सुविधा पुग्न नसकेका कारण मोहन्याल गाउँपालिका क्षेत्रमा नै कार्यालय सञ्चालन गर्न नसकेको बाध्यता सुनाउछन् ।

यो वर्षभित्र मोहन्याल गाउँपालिकाको फल्लेबिसौना गाउँमा कार्यालय सञ्चालन गर्नेगरी पूर्वाधार जुटाउने काममा लागेको रावलले जानकारी दिए । उक्त गाउँपालिकाको कार्यालय धनगढीमा सञ्चालन भइरहँदा वडा कार्यालय तराई क्षेत्रको घोडाघोडी नगरपालिकाको सुखड बजारमा सञ्चालनमा छन् । दुई वटा वडा कार्यालय मात्र सम्बन्धित वडामा सञ्चालनमा छन् ।

गाउँपालिकाको कार्यालय धनगढीमा सञ्चालनमा रहे पनि गाउँपालिका कार्यालयले प्रयोग गरेको ‘लेटर प्याड’मा भने ‘मोहन्याल गाउँपालिका, गाउँपालिकाको कार्यालय, खिमडी, कैलाली’ उल्लेख छ । नयाँ संरचना गर्दा साविकको सुगरखाल, मोहन्याल र पण्डौन गाविसलाई मिलाएर मोहन्याल गाउँपालिका बनाइएको हो ।

चुरे गाउँपालिका कार्यालयको स्थान चार पटक फेरियो । स्थानीय तहको निर्वाचन भएको एक वर्षभन्दा बढी भएको छ । तर कैलालीको पहाडी क्षेत्रको अर्को चुरे गाउँपालिकाको कार्यालय सञ्चालन गरिने स्थान भने पटकपटक फेरिनेक्रम नरोकिँदा सेवाग्राही र कार्यालयका कर्मचारीको हैरानी भएको छ । सेवाग्राहीले सेवा लिन टाढा पुग्नुपर्ने त दुःख छ नै, कहिले कतै त कहिले कतै कार्यालय सारिंदा कर्मचारीलाई पनि हैरानी भएको छ ।

स्थानीय तहको निर्वाचन भएपछिको यो अवधिमा चुरे गाउँपालकाको कार्यालय चारपटक विभिन्न ठाउँमा सारिएकामा अहिले पाँचौँ पटक चुरे गाउँपालिका क्षेत्रमा सार्ने तयारी भइरहेको छ । यो अवधिमा गाउँपालिकाको कार्यालय चुरे गाउँपालिका क्षेत्रमा पर्ने अलाड र सहजपुर, गोदावरी नगरपालिकामा पर्ने अत्तरिया तथा धनगढीमा गरी चार पटक स्थान परिवर्तन गरी सञ्चालन भएकामा हाल कार्यालय पुनः चुरे गाउँपालिका क्षेत्रमै लैजाने तयारी भइरहेको हो ।

गाउँपालिकाका अध्यक्ष धनबहादुर रोक्कामगर भौतिक पूर्वाधारको समस्या र सञ्चारको असुविधा जस्ता समस्याका कारण आफ्नै क्षेत्रमा गाउँपालिकाको कार्यालय सञ्चालन गर्न कठिनाइ भएको दाबी गरे । पहाडी क्षेत्रका साविकका सहजपुर, निगाली र खैराला गाविसलाई मिलाएर चुरे गाउँपालिका बनाइएको हो ।
रासस

प्रकाशित मिति : ८ भाद्र २०७५, शुक्रबार ००:००